प्रधानमन्त्रीद्वारा समवेदना


काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको अपमान भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा त्यस्ता अमानवीय र पाशविक कृत्यलाई न्यायसङ्गत मान्न नसकिने बताउनुभएको छ । उहाँले आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

न्यूजिल्याण्ड सरकार, त्यहाँका जनता तथा आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनमा प्रधानमन्त्री ओलीले गहिरो दुःखका साथ हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार