प्रयोगविहीन प्रशोधन भवन


दुई वर्ष अगाडि निर्माण भएको अदुवा प्रशोधन भवन अहिलेसम्म प्रयोगमा आउनसकेको छैन । जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लाबाटै प्रशोधन गरी अन्यत्र खपत गर्न जिल्लाको तानसेन नगरपालिका–८ चुच्चोबारीमा बनाइएको भवन प्रयोगविहीन अवस्थामा छ ।

जुन उद्देश्यअनुसार बनाइएको छ, सोहीअनुसार प्रयोगमा नआउँदा सबैको चासोको विषय बनेको छ । अदुवा प्रशोधन गर्ने उपकरण नहुँदा भवनलाई प्रयोगमा ल्याउन नसकेको भवन निर्माण समिति अध्यक्ष एवं जिल्ला अदुवा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष कृष्ण जिसी बताउनुहुन्छ । “कृषकले उत्पादन गरेका अदुवालाई जिल्लामै प्रशोधन गरी बाहिर पठाउने गरी भवन निर्माण गरियो तर भवनमा प्रयोग गर्ने उपकरण खरीद गर्न नसक्दा भवन अलपत्र अवस्थामा छ”, उहाँले भन्नुभयो ।

अदुवा प्रशोधनका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न सम्बधित ठाउँमा जानकारी गराए पनि अहिलेसम्म कोही कसैबाट सुनुवाइ नभएको जिसी बताउनुहुन्छ । नेपाल सरकारको राष्ट्रिय मसला बालीमार्फत रु ३२ लाख सहयोग र स्थानीयको जनश्रमदानसहित रु ४० लाखको लागतमा भवन निर्माण गरिएको छ । अदुवा बिक्रीका लागि वर्षेनी सास्ती खेप्दै आएका यहाँका कृषकलाई अदुवा उत्पादनमा प्रोत्साहन गर्न र बजारको समस्या हटाउन भवन निर्माण गरिएको हो । भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन नसक्दा कृषकले अदुवा बिक्रीका लागि निकै कष्ट भोग्न बाध्य छन् । वर्षेनी ठूलो परिमाणमा पाल्पामा अदुवा उत्पादन हुने गरेको अदुवा व्यवसायी सङ्घ पाल्पाका व्यवस्थापक भेषराज तिमिल्सिनाले बताउनुभयो ।

अदुवा प्रशोधन केन्द्रकै समस्याले वर्षेनी यहाँका कृषकले बारीमै अदुवा कुहाउन बाध्य रहेको उहाँ बताउनुहुन्छ । “भवन बनेर मात्र भएन, त्यसका लागि चाहिने अत्यावश्यक उपकरण खरीद गर्न करीब रु ३० लाख लाग्ने अनुमान छ, उपकरण खरीद समस्याले प्रशोधन केन्द्र शुरु हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार