मेयर र वडाध्यक्ष नै बिजुली चोरेपछि…


काठमाण्डौ,२१माघ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाण्डौबाट खटिएको टोलीले  मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्यधिक रहेको गुनासो आएपछि महाशाखाका इञ्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाउनु भएको थियो । नागरिकबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताउनुभयो ।

टोलीले गएको १४–२० माघमा रौतहटमा गरेको छड्केजाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताउनुभयो ।

‘घरपछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर बत्ती बालिएको घरमा लाइन ल्याइएको छ’, शर्माले भन्नुभयो, ‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौँ तर चोरीको वत्ति प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भिड जम्मा भयो उनीहरुले मिटर खोल्न दिएनन् ।’ तर, मेयरले विद्युत चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाइ सञ्जिवकुमार यादवले सही गरेको शर्माले जानकारी दिनुभयो । उहाँले मुचुल्लाको फाइल गौर शाखालाई दिएर बिगो तथा त्यसमा लाग्ने जरिवानालगायतका कानुनी कारबाही गर्न निर्देशन दिइएको बताउनुभयो ।

टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्यत् प्रयोग भइरहेको फेला पारेको छ । ‘वडाध्यक्षको घरमा धेरै विद्युत खपत गर्ने सामग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा बत्ती प्रयोग गरिएको रहेछ’, शर्माले भन्नुभयो, ‘त्यस क्षेत्रमा चोरी अध्याधिक रहेकाले विद्युत आपूर्ति गर्ने टान्सफर्मरबाट लाइन काटेर आएका छौँ ।’

गरुडा नगरपालिका १ का वडाध्यक्ष्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गर्नुभएको थियो । टोलीकाअनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमासमेत चोरीको विद्युत दिनुभएको थियो । वडाध्यक्षहरुले चोरी गरेको विद्युतको विगो र त्यसमा लाग्ने जरिवानालगायतका कानुनी कारबाही गौर वितरण केन्द्रले गर्ने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक वितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने टार्गेट दिनु भएको छ ।

यसका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइएको छ । प्राधिकरणले बढी विद्युत चोरी हुने क्षेत्रमा लोडसेडिङ गर्ने, विद्युतको नियमित आपूर्तिका लागि टान्सफर्मर नथप्ने तथा मर्मतसमेत नगर्ने नीति लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार