एमाले भोजपुरद्वारा मतदाताप्रति धन्यवाद ज्ञापन


भोजपुर, २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ।
जिल्ला कमिटी भोजपुरले आज जारी गरेको धन्यवाद ज्ञापन पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण मतदाता, सर्वसाधारण तथा सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ।
विज्ञप्तिमा एमालेका उम्मेदवार शेरधन राईलाई मत प्रदान गर्ने तथा पार्टीलाई साथ दिने सम्पूर्ण मतदाताप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूप्रति पनि कृतज्ञता प्रकट गरिएको छ।
एमाले भोजपुरले निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको रूपमा सम्मान गर्दै देश, जनता र पार्टीको हितमा सदैव क्रियाशील रहने प्रतिबद्धता जनाएको छ। कठिन परिस्थितिका बीच पनि विकास र समृद्धिको नेतृत्व गर्ने राष्ट्रिय शक्तिका रूपमा एमालेप्रति विश्वास प्रकट गर्दै साथ दिने भोजपुरवासीप्रति पुनः आभार व्यक्त गरिएको छ।
त्यस्तै, आगामी दिनमा जनताको चाहनाअनुसार विकास, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता एमाले गरेको छ ।
निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति पनि एमालले धन्यवाद दिएको छ ।
निर्वाचन मूल परिचालन समिति संयोजक तथा केन्द्रिय सदस्य हेमराज राई र निर्वाचन परिचालन समिति सदस्य सचिव तथा एमाले भोजपुरका अध्यक्ष मक्कर बहादुर खड्काले संयुक्त रूपमा  धन्यवाद ज्ञापन जारी गर्नुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार