पौवादुङमाको पहल : चैत ५ गतेबाट गाउँपालिकाबाट कर सम्बन्धि सेवा प्रवाह हुने


युवराज विष्ट
भोजपुर, १२ फागुन ।
भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा स्थानीयस्तरमै सञ्चालन हुने भएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
नेपाल सरकारको २०८२÷०७÷१७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय, भोजपुरबाट प्रदान हुँदै आएका केही सेवाहरू अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ। यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
समझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्नेछ भने स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यवसायिक स्थायी लेखा नम्बर उपलब्ध गराउनेछ।
यस्तै, मूल्य अभिवृद्धि कर दर्ताका लागि आवश्यक कागजात संकलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्रसम्बन्धी प्रक्रिया सहजीकरण गर्ने, कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवासमेत गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ।


करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा समेत गाउँपालिकाले सहकार्य गर्नेछ। यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने विश्वास गरिएको छ।
सम्झौताअनुसार चैत ५ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले समझदारीपत्रमा उल्लेख गरिएका विषयअनुसार करसम्बन्धी काम गाउँपालिकाबाटै प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो।
गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै गरिएको यो सहकार्यले राजस्व प्रशासनलाई नागरिकमैत्री बनाउने, सेवा प्रवाह छिटोछरितो बनाउने तथा संघीय संरचनाअनुसार अधिकार कार्यान्वयनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार