
युवराज विष्ट
भोजपुर, १२ फागुन ।
भोजपुरमा आगामी फागनु २१ सम्म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी करिब ९० प्रतिशत पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममार्फत कार्यालयले हालसम्म सम्पन्न भएका कामकाज, कर्मचारी परिचालन तथा सामग्री व्यवस्थापनबारे विस्तृत जानकारी गराएको हो।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक अधिकांश तयारी पूरा भइसकेको बताउनुभयो। उहाँका अनुसार निर्वाचनका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय काम तीव्र गतिमा अघि बढाइएको छ।
निर्वाचनका लागि कर्मचारी खटाउने कार्य सम्पन्न भइसकेको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरिनेछ। तालिम पश्चात् उनीहरूलाई फागुन १६ गतेदेखि सम्बन्धित मतदान केन्द्रमा परिचालन गरिने जानकारी दिइएको छ। मतदान प्रक्रियालाई प्रभावकारी र त्रुटिरहित बनाउन तालिमलाई विशेष प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
त्यसैगरी, मतदान सामग्री खरिद तथा व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ। आवश्यक मतपेटिका, मतपत्र, छाप, दर्ता पुस्तिका लगायत सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ। सामग्री ढुवानी तथा सुरक्षा व्यवस्थापनका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गरिएको बताइएको छ।
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भोजपुर जिल्लाभरि ९६० जना कर्मचारी परिचालन गरिएको छ। साथै, सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी भइरहेको र मतदातालाई ढुक्क भएर मतदान गर्न अनुरोध गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयले मतदातालाई आफ्नो नाम मतदाता नामावलीमा रहेको सुनिश्चित गरी तोकिएको मिति र समयमा मतदान केन्द्रमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

















