बोखिममा उन्नत सुन्तला बिरुवा वितरण, १५० किसान लाभान्वित


युवराज विष्ट
भोजपुर, १२ फागुन ।
सुन्तला खेतीमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई उन्नत जातका सुन्तला बिरुवा वितरण गरिएको छ। वडा कार्यालयले १५० जना किसानलाई करिब एक हजार २५० बिरुवा वितरण गरेको जनाएको छ।
बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिने भएकाले किसानलाई प्रोत्साहन गर्न उन्नत जातका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो। ती बिरुवा धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्र बाट ल्याइएको हो।
किसानलाई ‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तला बिरुवा वितरण गरिएको वडाध्यक्ष प्रधानले बताउनुभयो। यस वर्ष वडाले सुन्तला तथा अंगुरका बिरुवा वितरणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ। मागका आधारमा हाल सुन्तलाका बिरुवा वितरण गरिएको र केही समयपछि अंगुरका बिरुवा पनि वितरण गरिने उहाँको भनाइ छ।
“बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो,” वडाध्यक्ष प्रधानले भन्नुभयो, “सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन। किसानलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बिरुवा वितरण गरेका हौँ।”
विगतका वर्षहरूमा पनि वडाले सुन्तला तथा अन्य फलफूलका बिरुवा वितरण गर्दै आएको जनाएको छ। हाल बोखिमका करिब ३०० किसान सुन्तला खेतीमा आबद्ध रहेका छन्। परम्परागत रूपमा गरिँदै आएको खेतीलाई क्रमशः व्यावसायिक रूप दिँदै लैजाने योजना वडा कार्यालयको रहेको छ।
स्थानीय किसान भिमबहादुर दाहालले उन्नत जातका बिरुवा वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताउनुभयो। “पहिले परम्परागत जातका सुन्तलाले अपेक्षित उत्पादन दिन सक्दैनथ्यो”उहाँले भन्नुभयो,“अब उन्नत जातका बिरुवाले उत्पादन बढ्ने विश्वास छ । वडाले सुन्तला खेती विस्तारका लागि गरिरहेको पहलले किसानमा उत्साह थपिएको छ।”
किसानलाई प्राविधिक परामर्श, तालिम तथा बजार व्यवस्थापनमासमेत सहजीकरण गर्ने योजना वडाले बनाएको छ। सुन्तला खेतीलाई व्यवस्थित र दिगो बनाउँदै बोखिमलाई व्यावसायिक सुन्तला उत्पादन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार