कावा खोला पक्की पुलले तीन पालिकाका नागरिक लाभान्वित


भोजपुर, ११ फागुन ।
भोजपुरका दक्षिणी क्षेत्रका तीन स्थानीय तहका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या कावा खोलामा पक्की पुल निर्माणपछि समाधान भएको छ। पुस्तौँदेखिको जोखिमपूर्ण यात्रा अन्त्य गर्दै पुल सञ्चालनमा आएपछि आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन् ।
हतुवागढी गाउँपालिका–२ का वडाध्यक्ष विचारी थापाका अनुसार कोशी प्रदेशमा आफ्नै जिल्लाका शेरधन राई मुख्यमन्त्री बनेपछि पुल निर्माण सम्भव भएको हो। पुल निर्माणसँगै स्थानीय नागरिकले ठूलो राहत महसुस गरेको उहाँले बताउनुभयो।
“यहाँ पुल नहुँदा हामीले लामो समयदेखि गम्भीर समस्या भोग्दै आएका थियौँ,” थापाले भन्नुभयो, “संघीय संरचनापछि शेरधन राई मुख्यमन्त्री बनेसँगै यो पुल निर्माण सम्भव भयो। यसले दक्षिणी क्षेत्रका नागरिकलाई ठूलो राहत दिएको छ।”

पक्की पुल निर्माणले आवतजावतसँगै ढुवानी तथा यातायात सेवा पनि सहज भएको छ। यसले स्थानीय रूपमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष थापाको भनाइ छ।

कावा खोलामा पुल नहुँदा सदरमुकामसम्मको यात्रा अत्यन्तै कठिन थियो। खोलामा पानी बढेका बेला ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासी नारायण राईले बताउनुभयो। आपतकालीन अवस्थामा उपचारका लागि जिल्ला अस्पताल पुग्न नसक्दा स्थानीयले झनै समस्या भोग्नुपरेको उहाँको भनाइ छ।
वर्षा याममा खोला उर्लँदा पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाँदै गरेको शव पाँच दिनसम्म खोलाकै किनारमा राख्नुपरेको पीडादायी अनुभवसमेत उहाँले सुनाउनुभयो।

“कावा खोलामा पक्की पुल बनेर सञ्चालनमा आएपछि हाम्रो दैनिकी नै फेरिएको छ” राईले भन्नुभयो। “ पुल नहुँदाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । यस पुलले तीन स्थानीय तहका नागरिकलाई प्रत्यक्ष राहत दिएको छ।” कावा खोला पुलले हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङलाई जोडेको छ।

पुल भ्याटसहित चार करोड ६२ लाख ७४ हजार ९१० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएर सञ्चालन आएको हो । स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक स्पानमा निर्माण गरिएको पुल ४६ मिटर लम्बाइ र ६ मिटर चौडाइको छ। पुलको दुवै तर्फ १ दशमलव २० मिटर चौडाइको पैदल मार्गसमेत निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार