इटहरी हटिया क्षेत्रमा बृहत् सरसफाइ अभियान सम्पन्न


इटहरी, ७ फागुनइटहरी उपमहानगरपालिका–९ स्थित हटिया बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ। इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध आसेज (ASEZ) र आसेज स्टार (ASEZ STAR) का स्वयंसेवकहरूले हटिया बजार क्षेत्रमा सरसफाइ गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ९ का अध्यक्ष जितेन्द्र थापाको सहभागिता रहेको थियो। साथै वडा सदस्य कपिल घिमिरे र दक्षिणकाली टोल विकास समितिका अध्यक्ष बलबहादुर कटुवालको पनि उपस्थिति रहेको थियो।

वडा अध्यक्ष थापाले हाटबजार क्षेत्रलाई मध्यनजर गर्दै सरसफाइका लागि उक्त स्थान छनोट गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। वातावरण संरक्षण र सरसफाइ कार्यक्रमले सहरी विकासमा सकारात्मक प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

आसेज र आसेज स्टारले देश र समाजको आधारका रूपमा विभिन्न स्वयंसेवी कार्यहरू सञ्चालन गर्दै आएका छन्। रक्तदान, वातावरण सरसफाइ, वृक्षारोपण, वृद्धाश्रम सहयोगलगायतका कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएका छन्। हाल विश्वका ७,८०० भन्दा बढी क्षेत्रमा स्वयंसेवा गतिविधि सञ्चालन भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार