भोजपुरमा नेपाली सेना बोकेको बस दुर्घटना, २४ जना घाइते


भोजपुर, ६ फागुन ।
आसन्न फागुन २१ गते हुने चुनावी गस्तीका लागि निस्किएको नयाँ श्रीनाथ गण भोजपुरका नेपाली सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। सदरमुकामबाट सेना बोकेर टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस आज करिब १२ः३० बजे भोजपुर नगरपालिका–३ स्थित सेती बगर नजिकैको मोडबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

टेम्केमैयुङ गाउँपालिकाको निर्वाचन सुरक्षा लागि गइरहेको सेनाको चढेको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाका अनुसार घाइतेमध्ये २२ जना नेपाली सेना र बसधनी तथा चालक रहेका छन्। सेनाका ६ जना तथा बसधनी र चालक गरी ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइतेहरूलाई सेनाको दुई वटा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्तरमै उपचार भइरहेको छ। दुर्घटनामा दुई जना भने सकुशल रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार