
युवराज विष्ट
भोजपुर, ३ फागुन ।
रामप्रसादराई गाउँपालिकाले विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्र रहेका लोक सेवा आयोग तथा शिक्षा सेवातर्फ तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिने निःशुल्क विशेष तयारी कक्षा सुरु गरिएको हो।
स्थानीय तहबाटै लोक सेवा तथा शिक्षा सेवा सम्बन्धि जागरण फैलाएर सक्षम र राष्ट्रप्रति उत्तरदायी कर्मचारी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार युवापुस्तामा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्दै उनीहरूलाई सक्षम, सबल र आत्मनिर्भर बनाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो।
“अध्ययनरत तथा आवश्यक योग्यता पुगेका विद्यार्थीलाई लक्षित गरेर लोक सेवा र शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो,“युवालाई रोजगारीसँगै दीगो जीविकोपार्जनको आधारमा जोड्ने लक्ष्य हाम्रो हो। यस तयारी कक्षाले सरकारी सेवामा प्रवेश गर्ने अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ।”
स्थानीय तहले सञ्चालन गरेको यस्तो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाबाट गएर भोजपुर बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्राथमिकतामा राख्दै सोही क्याम्पस परिसरमा कक्षा सञ्चालन भइरहेको छ।
हाल उक्त तयारी कक्षामा ५० जना विद्यार्थीको सक्रिय सहभागिता रहेको भोजपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियन सभापति सोबिन तामाङले जानकारी दिनुभयो । सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। नियमित कक्षा, नमुना प्रश्नपत्र अभ्यास, समूह छलफल तथा मार्गदर्शनमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ।
गाउँपालिकाले आगामी दिनमा आवश्यकता र उपलब्धिका आधारमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। ग्रामीण क्षेत्रमै प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर उपलब्ध गराइएपछि विद्यार्थी र अभिभावक दुवै पक्ष सकारात्मक देखिएका छन्। यस पहलले गाउँपालिकाबाटै दक्ष जनशक्ति उत्पादन भई राज्यका विभिन्न निकायमा प्रतिनिधित्व बढ्ने जानकारहरुको भनाइ छ।

















