
भोजपुर, २ फागुन ।
नेपाली सेनाद्वारा आयोजित ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता’–२०८२ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। हरेक दुई÷दुई वर्षमा सञ्चालन हुने यो प्रतियोगितामा सेनाका देशभरका युद्धक गणहरूबीच प्रतिस्पर्धा भएको थियो।
अनुशासन, कार्यकुशलता, युद्धकौशल, तालिम क्षमता तथा समग्र कार्यसम्पादनका आधारमा मूल्यांकन गर्दा श्री नयाँ श्रीनाथ गण उत्कृष्ट ठहरिएको हो।
सेना दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले भोजपुरका गणपति, प्रमुख सेनानी प्रशुराम थापालाई नगद पुरस्कार, कदरपत्र तथा विजयी व्यानर (झन्डा) प्रदान गर्दै सम्मान गर्नुभयो। प्रतियोगिताले सेनाभित्र व्यावसायिक दक्षता, अनुशासन र कार्यसम्पादनमा उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाइएको छ।

















