
भोजपुर, १ फागुन ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा भोजपुरको हतुवागढी गाउँपालिका प्रथम भएको छ । यहाँका ९ स्थानीय तहमध्ये हतुवागढी गाउँपालिका ७३ दशमलव २८ अंकसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । आयोगले विभिन्न सूचकका आधारमा देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले स्थानीय सरकारको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन, राजस्व संकलन, सामाजिक विकास, पूर्वाधार निर्माण तथा प्रशासनिक कार्यकुशलताजस्ता विविध सूचकहरूलाई आधार मानेर मूल्याङ्कन गरेको जनाएको छ। ती सूचकहरूमा हतुवागढी गाउँपालिकाले सन्तोषजनक र प्रभावकारी कार्यसम्पादन गर्दै जिल्लाभर उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।
कोशी प्रदेशअन्तर्गतका १३७ स्थानीय तहमध्ये यो गाउँपालिका ७ औँ स्थानमा पर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । यसले प्रदेशस्तरमै गाउँपालिकाको कार्यक्षमता र व्यवस्थापन क्षमताको पुष्टि गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।
उक्त उपलब्धिप्रति प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले यो सफलता सम्पूर्ण हतुवावासीको साझा प्रयास र सहकार्यको परिणाम भएको बताउनुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्पूर्ण नागरिकको योगदानको प्रशंसा गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष राईले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। “हामीले हासिल गरेको यो उपलब्धि अन्तिम लक्ष्य होइन”अध्यक्ष राईले भन्नुभयो,“अझ राम्रो सेवा दिने प्रेरणा हो । यो नतिजाले हामीलाई थप हौसला मिलेको छ । ”
स्थानीय तहको सुदृढीकरण, संस्थागत विकास, सूचना प्रविधिको प्रयोग, राजस्व दायरा विस्तार तथा जनमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमार्फत हतुवागढी गाउँपालिकाले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको देखिएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमासमेत योजनाबद्ध रूपमा काम गर्दै आएको बताइएको छ।
आयोगको प्रतिवेदन अनुसार ७२ दशमलव ९९ अंक ल्याएर भोजपुर नगरपालिका द्धितिय, ७० दशमल ८९ अंक ल्याएर पौवादुङमा गाउँपालिका तृतिय र ७० दशमलव ६९ ल्याएर अंक ल्याएर रामप्रसादराई गाउँपालिका चौथो बनेको छ ।

















