तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई


भोजपुर, २३ माघ । तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा अल स्टार फुटबल क्लब धरानलाई ४–२ गोलले पराजित गर्दै छथर गाउँपालिकाले उपाधि हात पारेको हो ।
उपाधिसँगै छथर गाउँपालिकाले नगद रु. तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको अल स्टार फुटबल क्लब धरानले नगद रु. दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । माघ १४ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १६ वटा टिमको सहभागिता रहेको थियो ।

अन्तिम खेलमा छथर गाउँपालिकाका असिम राई ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर छथर गाउँपालिकाकै उमेश कार्की घोषित हुँदा हाई स्कोररको उपाधि अल स्टार फुटबल क्लब धरानका मिलन लिम्बुले जित्न सफल हुनुभयो ।

विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले खेल क्षेत्रको विकाससँगै युवाहरू तथा बालबालिकाको शारीरिक र मानसिक विकासका लागि गोल्ड कप प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले स्थानीय पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको उहाँको भनाइ छ ।
“गाउँपालिकाको आर्थिक व्यवस्थापनभित्र रहेर तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपसँगै माघी मेला पनि सञ्चालन गरेका हौँ,” अध्यक्ष राईले भन्नुभयो, “यस्ता प्रतियोगितामार्फत खेलकुदको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौँ । खेल क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउने हाम्रो लक्ष्य हो ।” प्रतियोगिताको समापनसँगै पौवादुङमा क्षेत्रमा खेलकुदप्रति युवाहरूको उत्साह बढेको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार