संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’


युवराज विष्ट
भोजपुर, १३ असोज ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पु¥याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो ।
गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाई तालिमका साथै सात–सात दिने  हलो जुवा, विनायो बासुरी, डोको–डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायतका दैनिक जीवन र सांस्कृतिक महत्वका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । यस्तै किराँत संस्कृतिमा प्रयोग हुने धनुँकाड र जाली रुमाल बन्ने तालिम पनि प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसहित त्यसलाई बजारसम्म पु¥याउने र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो। “हामीले जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर यी सीपलाई जीवन्त बनाउन चाहेका हौं” अध्यक्ष बस्नेतले भन्नुभयो,“यसबाट युवाले आत्मनिर्भरता हासिल गर्न सक्छन् र संस्कृतिको पहिचान पनि जोगिन्छ । कला संस्कृतिलाई संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउनमा हामीले जोड दिएका छौँ ।”
गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभई दीर्घकालीन रुपमा स्थानीय सीप, संस्कृति र आत्मनिर्भर बनाउने अर्थतन्त्रसँग जोड्ने अध्यक्ष बस्नेतको भनाइ छ ।


नयाँ पुस्तामा हस्तकला, परम्पराप्रति चासो र आकर्षण बढाउने लक्ष्यले गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँघरमा कतिपय परम्परागत रुपमा गरिने सीपहरु हराउँदै गएकोले प्रषिक्षण कार्यक्रममार्फत पुनर्जीवित गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो । पितापूर्खाले बनाउँदै आएका हस्तकलाको सामग्रीहरु संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने उपाध्यक्ष राईले जानकारी दिनुभयो । “आजका बालबालिका र युवाले परम्परागत हस्तकलाबारे कमै मात्र जानकारी पाएका छन्” उपाध्यक्ष राईले भन्नुभयो,“उनीहरूलाई व्यावहारिक सीप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजिएका छौँ। यसले परम्परागत सीप संस्कृतिको सरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”
अभियानलाई अझ मजबुत बनाउन गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौंसँगको समन्वयमा सीप प्रदान गरेको छ । यहाँका ६५ जना महिला–पुरुष सहभागीलाई विभिन्न खालका परम्परागत हस्तकलाको सीप प्रदान गरिएको हो । सहभागीहरूले सिकेका सीपलाई गाउँमै प्रयोग गरेर उत्पादन बढाउने र बजारमा लैजाने बताएका छन् ।
परम्परागत हस्तकलाले यहाँका बासिन्दाको जीवनशैली र पहिचान र संस्कृतिसँग पनि गहिरो सम्बन्ध राख्ने देखिएको छ । उचित प्रविधि, डिजाईन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्नमा सहयोग पु¥याउने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार