
युवराज विष्ट
भोजपुर, १२ असोज ।
दशैंलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
चाडवाडको बेलामा जेष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उहाँले बताउनुभयो ।
“यहाँका जेष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरेर सेवा दिइरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो“हेर्दा सामन्य जस्तो देखिएपनि यसले जनतालाई ठूलो लाभ पुगेको छ । च्याङ्ग्रेमा रहेको बैंकसम्म भत्ता लिन आउँदा स्थानीयलाई समस्या छ । घरपायकमा सेवा दिने हाम्रो लक्ष्य हो ।”
स्थानीयलाई लक्षित गरेर घुम्ती शिविरमार्फत सेवा प्रवाह भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । वडास्तरबाट नै पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उहाँको भनाइ छ ।
असोज १२ गतेसम्म सवै छ वटै वडामा भत्ता वितरण सम्पन्न हुनेछ । अभियान असोज ९ गतेबाट वितरण शुरु गरिएको हो ।