‘पुराना आदर्श र नयाँ ऊर्जा मिलाएर अग्रगामी मार्ग निर्माण गरौँ’


भोजपुर, १० असोज । नेपालको जेन्जी आन्दोलन पश्चात उत्पन्न भएको विषम राजनीतिक परिस्थितिलाई केन्द्रित गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कमिटीको बैठक प्रारम्भ भएको छ। यस संवेदनशील घडीमा पार्टीले सबैभन्दा पहिला व्यक्ति वा अनुहार परिवर्तन गर्नेभन्दा पनि प्रवृत्ति परिवर्तन गर्ने दिशातिर गम्भीर कदम चाल्न आवश्यक छ। किनकि एउटा नेतालाई बाइपास गरेर अर्को नेतालाई ल्याउने बित्तिकै पार्टी जनमुखी, गतिशील र रूपान्तरणशील हुन्छ भन्ने सोच भ्रान्ति मात्र हो।

व्यक्तिभन्दा पनि प्रवृत्ति नै खतरनाक हुन्छ, त्यसैले गलत प्रवृत्ति र जरो गाडेर बसेको खराब कार्यशैलीमा आमूल सुधार गर्नैपर्छ।पार्टीका विचारहरू समय सापेक्ष, गतिशील र रूपान्तरणशील बन्नुपर्छ। पुराना र नयाँ, बुढा र युवा भन्ने विवाद निरर्थक छ।

पुराना नेताहरू हाम्रो आदर्श, अभिभावक, जीवित इतिहास र बलिया जग हुन्—अटल र परिपक्को आधारस्तम्भ। नयाँ पुस्ता भने देशको ऊर्जा, शक्ति, आट–भरोसा, हिम्मत, सिर्जनशील विचार र समयसापेक्ष दृष्टिकोणसहितको गतिशील शक्ति हो। यी दुवैलाई सन्तुलित गर्दै विचार, राजनीति र दृष्टिकोणलाई समन्वयपूर्वक अगाडि बढाउनु नै आजको असल राजनीतिको मुख्य आधार हुनेछ।

त्यसैले कसैको लहड वा बहकाउमा लागेर नेतृत्व हत्याउने वा अनुहार मात्र बदल्ने अभ्यासमा जानु अनुचित हुनेछ। प्रवृत्ति सुधार, दृष्टिकोण सन्तुलन, समयसापेक्ष विचार र कार्यशैली रूपान्तरणमार्फत मात्रै पार्टीलाई जनमुखी, जिम्मेवार र अग्रगामी बनाउन सकिन्छ।

यसै सन्दर्भमा, पार्टीको यो ऐतिहासिक बैठकले गम्भीर विमर्शमार्फत मुलुकको चुनौती सामना गर्ने सशक्त मार्गनिर्माण गर्न सकोस् भन्ने विशेष शुभकामना व्यक्त गर्दछु। माओवादी केन्द्रको केन्द्रीय कमिटी वैठकलाई लक्षित गरेर लेखिएको कुमार थापाको लेख  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार