
भोजपुर, १० असोज ।
चाडपर्व–२०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। जिल्ला समन्वय समितिको सभाहलामा विहिबार भएको कार्यक्रममा जिल्लास्तरका पार्टी नेताहरु, जनप्रतिनिधि, विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाईचारा र एकताको सन्देश दिने भएकाले त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी नेताहरूले राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि सहकार्यको आवश्यकता औंल्याए। भोजपुरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र आर्थिक विकासका क्षेत्रमा सहकार्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उपस्थित नेताहरूले पार्टीलाई जनताको विश्वासलाई थप मजबुत बनाउन योगदान दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागीहरुले आगामी दिनमा जिल्लाको विकास र जनजीविकाको सवालमा साझा एजेन्डा बनाएर अघि बढ्नु पर्ने खाँचो औल्याएका छन् ।