
भोजपुर, २ असोज । भोजपुरस्थित विद्योदय माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थी अनुप दाहाललाई स्कुटर हस्तान्तरण गरिएको छ। विद्यालय–घर आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले कक्षा १२ मा अध्ययनरत दाहाललाई निशुल्क रुपमा स्कुटर सहयोग गरिएको कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले बताउनुभयो।
राज्यमन्त्री राईले भन्नुभयो, “फरक क्षमता भएका विद्यार्थीहरूको शैक्षिक यात्रा सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो। अनुप जस्तो जाँगरिलो र मेहनती विद्यार्थीलाई सानो सहायताले पनि ठूलो प्रोत्साहन मिल्छ भन्नेमा मलाई विश्वास छ।”
उहाँले अनुपलाई आईटी विषयमा उच्च शिक्षा हासिल गर्न सहज वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, सोही विद्यालयमा व्याचलर तहमा आईटी पढ्न इच्छुक छात्रामध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर दिने र पाँच जनासम्म छात्र–छात्रालाई निशुल्क कम्प्युटर तालिम उपलब्ध गराउने घोषणा समेत गर्नुभयो।
“यो सहयोग कुनै सरकारी कोषबाट होइन,” राज्यमन्त्री राईले भन्नुभयो, “म स्वयंले पाउने सेवा–सुविधाबाट बचत गरेको रकम हो। समाजलाई केही योगदान गर्नपर्छ भन्ने सोचका साथ यस प्रकारका कार्यक्रम अघि बढाएकी हुँ।” आगामी दिनमा अनुप जस्तै फरक क्षमता भएका विद्यार्थीहरु सहयोग गर्ने योजना रहेको समेत उहाले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभाध्यक्षता र राज्यमन्त्री राईकै प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनुपलाई स्कुटर हस्तान्तरण गरिएको हो।