
भोजपुर, ९ भदौ । कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण गरिएको छ । आर्थिक करिडोर पाख्रीबासको रु. तीन करोड २१ लाख लागतमा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको हो ।
सेवा केन्द्र भवन निर्माणले गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकामा आधुनिक यन्त्र उपकरणसहितको भवन निर्माणले सेवा प्रवाहसँगै कृषि र पशुपालनमा देखिएका विभिन्न समस्याको निराकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
“गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ,” उपाध्यक्ष राईले भन्नुभयो, “यो भवनले सेवा प्रवाहसँगै विभिन्न विषयमा अनुसन्धान गर्नसमेत टेवा पुग्नेछ ।”
भवन निर्माणले कृषि र पशु क्षेत्रको विकास गरेर किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । गाउँपालिकामा आधुनिक उपकरणसहितको भवन निर्माणले यहाँको कृषि र पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहजता मिल्ने उहाँको भनाइ छ । भवनलाई कार्यविधिअनुसार गाउँपालिकाले सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।
“छोटो समयमा गाउँपालिकामा नमूनायोग्य भवन बनेको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “यो भवनले गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा लिएको लक्ष्यलाई पूरा गर्न भूमिका खेल्नेछ ।”
यो भवनबाट कृषि र पशु रोगको विषयमा परीक्षण गर्न छुट्टाछुट्टै ल्याब रहेकाले रोग–कीराको पहिचानमा सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो । रोगको महामारी देखिएको खण्डमा यहीँ परीक्षण गरेर आवश्यक कदम अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
भवन निर्माणले रोग–कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।
भवनमा फर्निचर, ल्याबसहित आवश्यक सम्पूर्ण उपकरण जडान गरिएको आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा. इन्द्र नारायण शाहले जानकारी दिनुभयो । भवन अपाङ्गमैत्री रहेको उहाँको भनाइ छ ।