
भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ ९ लेखर्कमा तीज विषेश लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । पाँचधारे कला साहित्य केन्द्र, टङ्केमैयुङ गाउँपालिका–९, पाँचधारे, लेखर्ककाे आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
लेखर्कमा रहेका क्रियाशिल आमा समूह बीच प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सात वटा आमा समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा अजम्बरी आमा समूह प्रथम, चिमल गुँसार आमा समूह द्धितिय र सयपत्री आमा समूह तृतिय बेनेको आयोजकले जनाएको छ । प्रथम, दितिय र तृतिय हुने समूहले प्रमाण पत्रको साथमा क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाएका छन् । सान्तवना हुने सहभागी सवैलाई रु. एक/एक हजार प्रदान गरिएको छ ।
प्रथम पुरस्कार धनकुमार मगर, दितिय पुरस्कार प्रताप मुस्कानले प्रायोजन गर्नु भएको थियो । त्यस्तै कार्यक्रमको लागि स्थानीय विष्णुराज राईले रु. दश हजार सहयोग गरेको साहित्य केन्द्रका सचिव बावुराम शाक्यले जानकारी दिनुभयो ।
तीजको सांस्कृतिक महत्वलाई उजागर गर्दै परम्परागत लोकगीत संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । तीज पर्वलाई केवल नाचगान र मनोरञ्जनमा सीमित नराखी संस्कृतिको संरक्षण, सामाजिक एकता र महिलाको आत्मविश्वास अभिवृद्धिमा जोड दिने वडाध्यष माङ्गपाहाङ्गले बताउनुभयो ।
पञ्चप्रकाश माध्यमिक विद्यालयमा प्रतियोगिता गरिएको हो । कार्यक्रममा स्थानीय महिलाहरू, युवाहरू र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


















