
भोजपुर,२७ साउन । भोजपरको अरुण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र प्याउली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरणसहित यस आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा सञ्चालन गरिने योजना तथा कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले कार्यक्रमको औचित्यसंगै गाउँपालिकामा यो अवधिसम्म सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटको ८४.९५ प्रतिशत रकम पूँजीगत तथा चालुगत क्षेत्रमा खर्च भएकाे गाउँपालिकाका लेखापाल सिताराम आर्चायले बताउनुभयो।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको बारेमा जानकारी गराईएको गाउँपालिका उपाध्यक्षल विनिता ढकालको भनाइ छ । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताउनुभयो । उहाँले स्थानीयको सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिएर नीतिगत तथा कार्यगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उठेका सवालहरूलाई गाउँपालिका अध्यक्ष सालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडाध्यक्षहरू तथा विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए।
अरुण गाउँपालिकालाई समृद्ध बनाउन यहाँबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन पूर्वअध्यक्ष गजेन्द्र बहादुर कार्की, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले सुझावसमेत दिएका छन्।