
युवराज विष्ट
भोजपुर, २२ साउन ।
भोजपुरको पौवादुङमा गाउँपालिका २ सोसेटारका युवा देउमान राई व्यावसायिक अकबरे खुर्सानी खेतीमा लाग्नु भएको छ । आफ्नै ठाउँमा कृषि कर्म उद्यमी बन्ने लक्ष्यका साथ उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नु भएको हो ।
आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने लक्ष्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको उहाँको भनाइ छ । करिव आठ वर्ष अघिबाट खुर्सानी खेती गरिरहनु भएका राईले यो वर्ष आफ्नो बारीमा १७ हजार बोट हारहारीमा खुर्सानी लगाएको जानकारी दिनुभयो ।
“आफ्नै ठाउँमा उदाहरणीय बन्ने लक्ष्यका साथ विगत आठ वर्ष अघिबाट खुर्सानी खेतीमा लागेको छु”उहाँले भन्नुभयो,“यो वर्ष २५ रोपनी क्षेत्रमा १७ हजार बोट खुर्सानी विस्तार गरेको छु ।”
युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफूले भने आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो । व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहजता भएको उहाँको भनाइ छ । विभिन्न तीन ठाउँमा जग्गा व्यावस्थापन गरेर खुर्सानी खेती गरेको उहाँको भनाइ छ । यो व्यावसायमा दुई जनालाई रोजगारीसमेत दिएको उहाँले जानकारी दिनुभयो ।
सडकको पहुँच राम्रो रहेकाले उत्पादन भएको खुर्सानी घरबाट नै विक्री गर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
किसानलाई उनीहरुको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणको लागिसमेत सहयोग गरिरहेको उहाँको भनाइ छ ।
खुर्सानी खेतीको क्षेत्रलाई विस्तारको लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु.७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष पौवादुङ्मामा खुर्सानीबाट रु.१८ करोड हारहारीमा रकम भित्रिएको उहाँले जानकारी दिनुभयो ।
“अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको श्रोत बनेको छ” अध्यक्ष राईले भन्नुभयो,“हामीले कृषि क्षेत्रमा लगानी बढाएका छौँ। यहाँ भूगोल सुहाउँदो खेतीमा जोड दिएका छौँ ।”
किसानको राम्रो आम्दानीको श्रोत अकबरे खुर्सानी बनेकोले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उहाँको भनाइ छ ।
यहाँको करिव पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेको कृषि शाखाले जनाएको छ । यहाँका करिव नौ सय जना कृषकले व्यावसायिक अकबरे खुर्सानी खेती उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो ।
भोजपुरका किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, काठमाण्डौलगायतका शहरमा पुग्ने गरेको छ ।