हतुवागढीमा दिमालुङ स्मारकसँगै पार्क निर्माण


युवराज विष्ट
भोजपुर, ५ साउन ।
पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक पार्क निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यन (पार्क) निर्माण गरिएको हो ।
किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी वडा नं. २ र ३ मा पर्ने यो स्थानमा पार्कसँगै आसपासमा पदमार्गसमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । पार्क स्थलको घेराबारा, दिमाको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।
“गाउँपालिका र प्रदेश सरकारको लगानीमा यहाँ दिमालुङ उद्यन निर्माण गरेका छौँ”प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्धेश्य हो ।”
किराँत इतिहासको संरक्षणसँगै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ दिमालुङ स्मारक उद्यन (पार्क) निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यो स्थान गाउँपालिकाले निर्माण गरेको ‘जोर आहाल, शङ्मचुली, दिमालुङ’पदमार्गको अन्तिम विन्दुमा पर्ने भएकाले यहाँ पर्यटनको राम्रो सम्भावनाको अध्यक्ष राईको भनाइ छ ।
यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । यहाँ रहेको किरात ईतिहास बोकेको विषेश खालको दिमालुङ ढुङगाको संरक्षण गर्दै स्मारक पार्क निर्माण गरिएको अध्यक्ष राईले बताउनुभयो ।
“किरातहरुको इतिहास जोडिएको यो स्थानको संरक्षण गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हुने भएकोले पार्कको नाम दिमालुङ रहेको हो ।यो ठाउँले निकै ठुलो ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटनसँग जोडेर विकासमा जुटेका हौँ ।”
पर्यटकलाई लक्षित गरेर करिव चार रोपनी क्षेत्रमा दिमालुङ स्मारक र नजिकै करिव १५ रोपनी क्षेत्रमा दिमालुङ उद्यन (पार्क) निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । किरात समुदायले वर्षमा दुई पटक यो क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । यसले यहाँको संस्कृतिको संरक्षणसँगै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।
पर्यटनसँग जोडेर ऐतिहासिक क्षेत्रको योजनाबद्ध विकासले हतुवा क्षेत्रको विकासमा थप टेवा पुग्ने हतुवागढी १ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । यस्ता ठाउँको प्रचार÷प्रसार गरेर गाउँपालिकाको राम्रो आर्थिक श्रोतको रुपमा जोड्न सकिने उहाँको भनाइ छ ।
“दिमालुङ एक धार्मिक पर्यटकीय स्थल हो”वडाध्यक्ष विष्टले भन्नुभयो,“यसले किरात संस्कृतिकलाई बोकेको छ । हामीले यस्ता धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकासमा जोड दिएका छौँ ।”
ऐतिहासिक क्षेत्रलाई लक्षित गरेर दिमालुङ स्मारकसँगै दिमालुङ उद्यन निर्माण गरिएपछि स्थानीयबासी उत्साहित भएका छन् । यो क्षेत्रको संरक्षणले यहाँको पर्यटनको विकासमा टेवा पुग्ने स्थानीयबासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार