
युवराज विष्ट
भोजपुर, २० जेठ ।
भोजपुर नगरपालिका ६ भंगेरीका कमल तामाङ व्यावसायिक माछापालनमा जुट्नु भएको छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले तामाङ व्यवसायमा जुट्नु भएको हो ।
अहिले आफ्नै ठाउँमा पाँच वटा पोखरीमा व्यावसायिक रुपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा लगाएको उहाँले जानकारी दिनुभयो । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय थालेको तामाङले बताउनुभयो ।
“आफ्नै ठाउँमा उदाहरणीय काम गर्ने लक्ष्यले व्यावसायिक रुपमा माछापालन गरिरहेको छु”उहाँले भन्नुभयो,“अहिले पाँच वटा पोखरीमा ६० केजी भुरा लगाएको छु । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द छ ।”

वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा पाँच वर्ष विताएर आफ्नो ठाउँमा त्यहाँको भोगाई र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको तामाङले बताउनुभयो । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उहाँले सुनाउनुभयो ।
“धेरै युवाहरुमा विदेश प्रति मोह बढेको देखिन्छ”तामाङले भन्नुभयो,“तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नु भन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।”

व्यवसायमा लाग्ने युवाहरुलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको भोजपुर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताउनुभयो । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।
किसानहरुलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भईरहको उहाँको भनाइ छ । “किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ” वडाध्यक्ष कार्कीले भन्नुभयो,“किसानहरुलाई उनीहरुको व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौँ ।”
भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानहरुले व्यावसायिक माछापालन, तरकारी खेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रुपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

















