
भोजपुर, १८ चैत ।
भोजपुरका व्यावसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकलाई कृषि तथा पशुपञ्छी बीमामा जोड दिइएको छ । कृषकले ढुक्कसँगले कृषि तथा पशुपालन व्यवसाय गर्ने वातावरण निर्माण गर्न कृषि ज्ञान केन्द्र भोजपुरले कृषि बीमा कार्यक्रममा जोड दिएको हो ।
कृषि ज्ञान केन्द्रले बीमा प्राधिकरणसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेर कृषि बीमाको बारेमा जानकारी दिन थालेको छ । जिल्लाका नौ वटा स्थानीय तहका अगुवा कृषक,कृषि तथा पशुपञ्छी शाखाका प्रविधिकहरुकासँग यहाँको कृषि बीमाको अवस्थाको विषयमा जानकारी लिएको छ ।
कृषकहरुलाई कृषि तथा पशुपञ्छी बीमाबाट हुने लाभ तथा कसरी बीमा गर्ने भन्ने विषयमा जानकारी दिने कार्य भईरहेको कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेश कुमार यादवले जानकारी दिनुभयो ।
“हामीले कृषकहरुलाई कृषि तथा पशुपञ्छी बीमामा जोड दिएका छौँ” प्रमुख यादवले भन्नुभयो,“धेरै किसानहरुमा कृषि बीमाको विषयमा अन्योलता छ । किसानहरुलाई बीमाको विषयमा जानकारी प्रदान गरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामीले जोड दिएका छौँ ।”
बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन भईरहेको उहाँले बताउनुभयो । कुनै प्रकोपका कारण बाली तथा पशुपञ्छीमा क्षति पुगेमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किसानलाई सफ्टवेयरमार्फत कसरी कृषि बीमा गर्न सकिन्छ भन्ने विषयमासमेत जानकारी प्रदान गरिएको छ ।