पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा


भोजपुर, १३ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनु भएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हात्ते ट्याक्टर उपलब्ध गराउनु भएको हो ।

प्रकाशले आफ्नै पुख्र्याैली थलोमा कृषि पेसामा आवद्ध हुने इच्छा गरेपछि पूर्वमुख्यमन्त्री राईले आवश्यक सहयोग गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले हजारौँ युवा विदेश गईरहेको अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेती, किसानी गर्ने इच्छा गरेकाले आफूले आवश्यक सहयोग गरेको बताउनुभयो । साथै उहाँले प्रकाशलाई गाउँमा एक उदाहरणीय कृषक बनेर काम गर्नसमेत आग्रह गर्नुभयो । प्रकाशलाई करिब १ महिना अघि पूर्वमुख्यमन्त्री राईले रु. एक लाख रुपैँयासमेत सहयोग गर्नु भएको थियो ।

पूर्वमुख्यमन्त्री राई पत्नी जाङमु इन शेर्पाको पहलमा प्रकाशलाई मालपोत कार्यालय भोजपुरमा सो जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाको नाम रहेको जग्गा प्रकाशको नाममा पास गरिदिएर लालपूर्जा हस्तान्तरण गर्नु भएको हो ।

जग्गाको लालपूर्जासँगै कृषि सामाग्री पाएपछि प्रकाशले राई दम्पतीले गरेको सहयोगले कृषि कर्ममा लाग्न थप हौसला मिलेको बताउनुभयो । जग्गा प्रदान कार्यक्रममा षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासलगायत जनप्रनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ हेर्ने कथामार्फत चर्चामा आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार