आमचोकको १४ सय रोपनी क्षेत्रमा चिया खेती विस्तार


भोजपुर, ५ भदौ । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चिया खेतीको विस्तार थालेको छ । प्रशस्त पर्यटनको सम्भवना बोेकेका यहाँका नाङ्गा खाली पाखालाई हरियाली बनाउदै आयस्तर बृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चिया खेती विस्तार थालेको हो ।
गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिव एक हजार चार सय रोपनी क्षेत्रफलमा चिया विस्तार गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट योजनाबद्ध रुपमा चिया खेती विस्तार गरिरहेको छ ।
हालसम्म चिया खेती विस्तारको लागि गाउँपालिकाले रु.चार करोड ५ं० लाख हारहारी लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । गाउँपालिका भित्रका चिया खेतीको राम्रो सम्भावना रहेको वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ । यी क्षेत्रमा प्रशस्त खाली जमिनसँगै पर्यटनको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले दिर्घकालिन योजनाका साथ खेती विस्तारमा जोड दिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
“गाउँपालिकाले योजनाबद्ध रुपमा चिया खेती विस्तार गरिरहेको छ” अध्यक्ष राईले भन्नुभयो,” यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिव एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भईसकेको अवस्था छ ।”
आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले यहाँ चियाको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ । गाउँपालिकासँगै स्थानीयलाई पनि निजि खाली जमिनमा चिया खेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
“हाम्रो आमचोकमा चिया खेतीको लागि निकै उपयुक्त भूगोल रहेका छन्”अध्यक्ष राईले भन्नुभयो,“चियालाई पर्यटन र आयश्रोतको रुपमा स्थापित गराउन खेती विस्तारमा जोड दिएका छौँ । यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयबासीलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”
स्थानीयको जनसहभागिता बढाउदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गिकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले बताउनुभयो । वर्गिकरणमा ‘घ’ वर्गमा परेका गरिव तथा विपन्न परिवारलाई गाउँपालिकाले रु.नौ हजार र स्वयम व्यक्तीले रु. एक हजार गरी दश हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अति गरिव विपन्न एक हजार १६३ परिवारलाई सेयर वितरण गरिएको उहाँको भनाइ छ ।
गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँको भनाइ छ ।
उत्पादित चियाको प्रशोधन गर्नको लागि वडा नं २ मा चिया कारखाना स्थापना भईरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको रुं.४५ लाख र कोशी प्रदेश सरकारको रु. एक करोड लागतमा निर्माण भईरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।
“गाउँपालिका क्षेत्रको चिया खेतीको सम्भवनालाई मूर्त रुप दिन बृहत रुपमा चिया खेती विस्तारको काम भइरहेको छ” प्रशासकीय अधिकृत राईले भन्नुभयो,“उत्पादित चियाको प्रशोधनको लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भईरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भईरहेको अवस्था छ ।”
दिर्घकालिन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।
चिया नर्सरीमा अर्को सिजनमा रोप्नको लागि करिव पाँच लाख विरुवा उत्पादन भईरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफी खेतीको विस्तारको लागिसमेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भईरहेको गाउँपालिकाको भनाइ छ ।
रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार