फिचर-केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ ‘भोजपुर’ ! कुन स्थानीय तहमा कसरी हुँदैछ काम ?


युवराज विष्ट
भोजपुर, २ असोज । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् ।

दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन ।

मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ ।

हिले-भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।

केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ ।

दोश्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूर्ण रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केहि नागरिकहरुले स्थानीयस्तरका साना जलविद्युत तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ ।
भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भएपनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केहि समय लाग्ने भोजपुरनगरपालिका उप–प्रमुख ममिता राईले जानकारी दिइन् ।

पौवादुङमा गाउँपालिकाको केहि वडामा केन्द्रीय प्रसारण लाईन सञ्चालनमा रहेको भएपनि पूर्ण रुपमा विस्तार भएको छैन् । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारको लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास रहेको छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयबासीलाई लक्षित गरेर सौर्यबत्ती लगायतका सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्याङ्ग्रेको केही भाग, वडा नं २ तिवारीभञ्याङको करिब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ । बोलपत्र आह्वान भएर ठेकेदारले कामको थालनी गरेको भएपनि प्राधिकरणको कारण काम ढिला सुस्ती भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ पटक/ पटक काठमाण्डौमा पुगेर विद्युत् विस्तारको लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केहि वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणको कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडी बढाउन सकेको छैन्। म आफै प्राविधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन् । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।’

यस गाउँपालिकामा विद्युत् विस्तारका लागि रु. चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकम मध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामको लागि रु.९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।
हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भएपनि लक्ष्य अनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई ओटा वडाका करीब ५०÷५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका वडाहरुमा पोल गाडेर तार टाङ्ने काम भएपनि विद्युत् विस्तारमा प्राधिकरणले ढिलाई गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए ।

राईले भने,‘ हाम्रो स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भईरहेको छ । तर सोचे अनुसारको प्रगती भएको छैन् । विभिन्न ठाउँमा कामलाई चाडो गर्न आग्रह गर्दापनि काममा ढिलाई छ । धेरै पहल गरेर पुन रु. ५ करोड बजेट आएको छ। त्यो बजेटले वडा नं १, २, ४, ५ र ९मा पूर्ण रुपमा विद्युतिकरण गर्ने लक्ष्य छ ।’
गाउँपालिकाका अन्य वडामा भने स्थानीयस्तरमा उत्पादन भएको विद्युत् सञ्चालनमा रहेको छ । यहाँको वडा ७ र ८ मा भने कुनैपनि विद्युत् सेवा नरहेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकामा कावा खोला लघु जल विद्युत् आयोजना, २६ किलोवाटको छिर्लिङ खोला लघु जल विद्युत् आयोजना थप अर्को आयोजना सञ्चालनमा रहेका छन् । जसबाट वडा नं २, ३ र ९ का स्थानीयले विद्युत् सेवा लिदै आएका छन् । केन्द्रीय र स्थानीय गरी समग्रमा गाउँपालिकामा करीब ३० प्रतिशत मात्र जनताले विद्युत् सेवा उपभोग गर्न पाएको गाउँपालिकाले जनाएको छ ।
षडानन्द नगरपालिकाका करीब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उप–प्रमुख मेरिका राईले जानकारी दिइन् । यहाँ १४ वटा रहेका छन् । सवै वडामा भने पूर्ण रुपमा विद्युतिकरणको लागि काम भईरहेको नगपालिकाले जनाएको छ । यहाँ छाँगे खोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेको छ । नगरपालिकाका विभिन्न वडामा विद्युत् विस्तारका लागि पोल गाड्ने तार टार टाङने लगाएतका काम भईरहेको छ ।
साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला शुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिए । अध्यक्ष राइले भने,‘ अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारणलाइन विस्तार शुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा यहाँ काम पछि शुरु भएको हो । असोजसम्ममा गाउँपालिका केन्द चौकी डाँडासम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।’

केहि समय अघिबाट मात्र केन्द्रीयलाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ ८ ओटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार यहाँका करिब ५० प्रतिशत जनता विद्युत्को पहँुचमा रहेका छन् ।त्यस्तै दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिकामा सवै भन्दा कम चार प्रतिशत मात्र जनता विद्युत्को पहँुचमा रहेका छन् । यहाँ केन्द्रीय विद्युत् विस्तारको लागि चार वर्ष अघिबाट कामको थालनी गरिएको भएपनि प्रगती नभएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ चार वर्षअघिबाट हाम्रो क्षेत्रमा विद्युत् विस्तारको काम शुरु भएको छ । पहिलो पटक गरिएको बोलपत्रबाट हतुवागढीको घोडेटारबाट पोल र तार टाङ्ने काम भयो । त्यसछि पुन दोश्रो पटक पुनः करीब अढाई करोडको टेन्डर आह्वान भयो । त्यसले पनि काम सके भनेर गयो । फेरी अन्तिममा पौने तीन करोड जतिको टेन्डर आह्वान भएको भन्ने सुनेको छु काम भएको छैन्। नौ ओटा स्थानीय तह मध्ये केन्द्रीय लाइन विस्तार नभएको स्थानीय तह हाम्रो मात्र हो ।कम्तीमा पनि प्राधिकरणले गाउँपालिका केन्द्रसम्म विद्युत् मात्र बालिदिए गाउँ गाउँमा विस्तारको लागि हामी पनि बजेट विनियोजन गर्ने थियौ । यसले गर्दा बजेट विनियोजन गर्न नै अन्योल भएको छ । यहाँको प्राधिकरणले काममा प्राथमिकता दिएको छैन् । काम गरिरहेको भन्छन् प्रगती शुन्य जस्तो छ ।’ अरुण र रामप्रसाराई गाउँपालिकामा पनि केहि ठाउँमा विद्युत् विस्तार भएपनि पूर्ण रुपमा विद्युत् सेवा पुग्न सकेको छैन् ।

थपिदैछन् जलविद्युत् आयोजना ः भोजपुरमा पनि जलविद्युत्को क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारणलाईनमा जोडिएको छ । इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेघावट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिए । यी विद्युत् गृहबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला अपर र लोअर दुई ओटा आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेघावाटको अपर चिर्खुवाको काम ६० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सहायक लेखापाल रविन बुढाथोकीले जानकारी दिनुभयो । यसको पाइपलाईन तीन किलोमिटर रहेको छ । २०७६बाट शुरु भएको यसको निर्माण आगामी २०७९ साउन भित्र सक्ने लक्ष्य रहेको छ । त्यस्तै चार दशमलव छ मेघावाटको लोअर इर्खुवाको पनि काम शुरु हुने चरणमा रहेको लेखापाल बुढाथोकीले जानकारी दिए ।

त्यस्तै जिल्लाको सबै भन्दा ठुलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तिव्रगति भइरहेको छ । १५ मेघावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट शुरु भएको हो । दुई दशमव पाँच किलोमिटर पाएपलाइन भएको यस आयोजनाको दुई दशमव तीन किलोमिटर पाएप लाइन सुरुङ रहेको छ । यसको पनि काम ५० प्रतिशतको हारहारीमा सम्पन्न भएको जनाइएको छ ।

सोही खोलामा १५ मेघावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानी कर्ताहरुले बताएका छन् । त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमनामा पर्ने श्याम खोलाबाट पनि ७ मेघावाट क्षमताको विद्युत आयोजना सञ्चालनको तयारी भइरहेको छ । यी बाहेक जिल्लामा साना ठुला गरी दुई दर्जन बढी आयोजनाहरु सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत् क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुले जनाएका छन् ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार