टेम्केमैयुङ गाउँपालिकाद्धारा हावाहुरी पीडित १७० परिवारलाई राहत वितरण


भोजपुर, ५ कात्तिक । टेम्केमैयुङ गाउँपालिकाले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । हावाहुरीले मकैबाली नश्ट भएपछि भोकमरीको समस्यामा परेका वडा नं १ सुम्लिखा, खम्बुखा, सावा, पाङखाङका १७० परिवारलाई चामल वितरण गरेको हो । गाउँपालिकाले प्रत्येक परिवारलाई ५० केजीका दरले चामल वितरण गरेको जनाएको छ । सो क्षेत्रमा मुख्यरुपमा मकै खेती हुने गरेको छ । फल लाग्ने बेलामा आएको हावाहुरीले सम्पूर्ण मकैबाली नश्ट भएको थियो । पीडितका लागि गाउँपालिकाले रु. ५ लाख लागतमा २४४ बोरा चामल खरिद गरेर ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

अध्यक्ष राईले भने ‘हावाहुरीले त्यस क्षेत्रको मुख्य मकैबाली सखाप बनाएपछि गाउँपालिकाले राहत स्वरुप चामल वितरण गरेको छ, वर्षभरि खाने मकै प्राकृतिक विपतिका कारण उत्पादन नभएपछि स्थानीयबासीमा अनिकालको समस्या छ ।’ गाउँपालिकाले समस्यामा परेकाहरुको पहिचान गरेर राहत वितरणको लागि तयारी थालेको थियो । दशैं नजिकै आएको वेला राहत महसुस होस् भनेर चामल दिएको वडाअध्यक्ष नर बहादुर राईको भनाइ छ । ‘ चाडबाडहरु नजिएको अवस्थामा स्थानीयबासीलाई छाक टार्न नै समस्या छ, त्यसैले चाडलाई लक्षित गरेर राहत दिएका हौँ ।’ वडाअध्यक्ष राईले भने ।

गाउँपालिकाले राहत दिएपछि स्थानीय खुसी भएका छन् । स्थानीय देववहादुर विष्टले भने, ‘ यस वर्ष हावाहुरीका कारण मकैको विउ सम्म नरहने अवस्था छ, मुख्यबाली हावाले नश्ट गरिपछि हामी भोकमरीको समस्यामा छौँ, गाउँपालिकाले राहत दिएपछि हामी अतिनै खुुसी छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार