चार करोड लागतमा पौवादुङमा गाउँपालिकामा विद्युत् विस्तार हुँदै :भोजपुरका ४७ प्रतिशत जनता विद्युतको पहुँचमा !


भोजपुर, ७ असोज । पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् विस्तार गर्नको लागि प्रक्रिया अगाडी बढेको छ । उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् विस्तार गर्न बोलपत्र आह्वान गरिएको हो । गाउँपालिकाको वडा नं. १ श्यामशिला देखि वडा नं. ६ ठुलोदुम्मासम्म विद्युत् वितरण गर्नको लागि बोलपत्र प्रक्रिया अगाडि बढिसकेको गाउँपालिकाले जनाएको छ । यस आर्थिक वर्षभित्रमा विद्युत् विस्तार गरीसक्ने लक्ष्यका साथ काम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने,‘उज्यालो गाउँपालिका बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्न विद्युत् विस्तारको लागि बोलपत्र आह्वान भएको छ, कामको दौडानमा कुनै चुनौती नआएमा चालु आर्थिक वर्षभित्रमा विद्युत् विस्तारको काम सम्पन्न हुन्छ ।’ गाउँपालिकाले सबै घरमा उज्यालो बनाउनको लागि सरोकारवाला पक्षसंग समन्वय गरेर कामको थालनी गर्न लागेको अध्यक्ष राईले बताए । यसले जनताको विकासको चाहानालाई पूरा गर्न धेरै मद्धत पुग्ने उनको भनाइ छ ।

‘हाम्रो स्थानीय तहमा आएको बजेटले सबै ठाउँमा विस्तार गर्न सम्भव थिएन, यसर्थ हामीले सरोकारवाला पक्षसंग निकै ठूलो पहल र प्रयत्न गरेर यो कामलाई सम्भव बनाएका छौँ, यसको लागि मुख्यमन्त्री शेरधन राईले पनि निकै चासोका साथ कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ, यसबाट गाउँपालिकाबासीमा उत्साह बढेको छ । हुन त हामीले गरिब तथा विपन्न परिवारको पहिचान गरेर सोलारहरु वितरण गर्दै आएका छाँै,’ अध्यक्ष राईले भने ।गाउँपालिकाको केहि क्षेत्रमा केन्द्रिय विद्युत् प्रसारण लाइन जोडिएको भएपनि अधिकांश दुर्गम क्षेत्रका स्थानीय विद्युत् सेवाबाट बञ्चित रहेका छन् । गाउँपालिकाभित्र तीन हजार भन्दा बढी घरपरिवारको बसोबास रहेको छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारको लागि ठूलोबजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयबासिन्दालाई लक्षित गरेर सोलार सेट लगायतका सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्याङ्ग्रेका केहि भाग, वडा–२ तिवारीभञ्याङको करीब ७० प्रतिशत र वडा–१ श्यामशिला र वडा–५ सानोदुम्माको केहि भागमा मात्र विद्युत् विस्तार भएको छ । प्रदेश –१ सरकारले घर–घरमा उज्यालो पु¥याउने अभियानअन्तर्गत विद्युत् विस्तारको प्रक्रिया शुरु गरिरहेको हो । पौवादुङमा गाउँपालिकामा विद्युते विस्तारका लागि रु.चार करोड ४० लाखको बोलपत्र आह्वान गरिएको भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले जानकारी दिए । यसमध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामको लागि रु.९९ लाख ५३ हजार ६३३ बराबर खर्च हुने उनको भनाइ छ । सबै प्रक्रिया सम्पन्न गरेर मंसिर अन्तिमदेखि काम शुरु गरिने प्रमुख घिमिरेले बताए ।

दुई ओटा नगरपालिका र सात ओटा गाउँपालिका मध्ये भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमयुङ गाउँपालिकामा केन्द्रीय प्रशारणलाइन र स्थानीय स्तरमा उत्पादन भएको विद्युत् गरी गाउँपालिकामा ९७ भन्दा प्रतिशत बढी विद्युत्को पहँुच पुगेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए । दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करीब १० प्रतिशत भू–भागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकालको वडा नं १ मा करीब ५० प्रतिशत, वडा नं ४, ५ र ९ को केहि भागमा मात्र केन्द्र्रीय विद्युत् प्रसारण लाइन पुगेको छ भने, वडा नं ३ को ९० प्रतिशत र वडा नं २ लुङ्गिनको करीब ७० प्रतिशत क्षेत्रमा विद्युत् विस्तार भएको उनले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ हाम्रो गाउँपालिकाको समग्रमा करीब १० प्रतिशत भागमा मात्र विद्युत् सेवा पुगेको छ, यस वर्ष पनि विद्युत् विस्तारको लागि बजेट आएको छ, भन्ने सुनेको छु तर हामीलाई जानकारी नदिई माथीबाट नै विद्युत् विस्तारको काम गरिदा धेरै समस्या छन्, ठेकेदारले गरेको धेरै काम अस्तव्यस्त हुँदा स्थानीयको गुनासो आउछ, यसर्थ काम गर्दा कम्तीमा पनि स्थानीय सरकारसंग समन्वय हुनु पर्ने हो, त्यो नहुँदा धेरै समस्या देखिएको छ ।’ भोजपुर नगरपालिकाको १२ ओटा वडामा नै विद्युत् पुगेको भएपनि केहि वडाका सबै घरपरिवारमा पुग्न केहि समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् । यता षडानन्द नगरपालिकाका करीब ७० प्रतिशत क्षेत्रमा विद्युत विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भईरहेको उप प्रमुख मेरिका राईले बताइन् ।साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केहि वडामा विद्युत विस्तार भएपनि पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन ।

ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार भोजपुरमा हालसम्म ४७ प्रतिशत जनता विद्युतको पहँचमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार