भोजपुरको बोखिम तरकारी खेतीमा नमूना बन्दै


भोजपुर, २६ भदौ । भोजपुर नगरपालिका –५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रुपमा चिनिने यस ठाउँमा वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालनमा ल्याएर कृषकलाई प्रोत्साहन गरेसंगै तरकारीमा नमूना बनेको हो । करिव ७ सय घर परिवार रहेको यस वडाका अधिकांश कृषकहरुले तरकारी खेती गरिरहेका छन् । विगतका वर्षहरुमा पनि तरकारीको खेती गर्ने यहाँका कृषकहरु वडा कार्यालयले प्राविधिकसंगै अन्य सहयोग गरेपछि झनै आर्कषित भएका छन् । उनीहरुले तरकारी खेतीबाट राम्रो आम्दानी समेत गरिरहेका छन् । अधिकांश स्थानीय कृषकको मुख्य आम्दानीको श्रोत तरकारी बाली बनेको हो । वडा कार्यालयले आफूहरुलाई गरेको सहयोग प्रति उनीहरु निकै खुसी छन् । वडा कार्यालयले आफूलाई प्रोत्साहन गर्ने गरेको कामको उनीहरुले खुलेर प्रसंशा गर्ने गरेका छन् । उनीहरुले टनेलमा टमाटर, अकबरे खुसार्नी, तिते करेला,बन्दा, काउली, काक्रो लगाएत विभिन्न जातका तरकारीहरु उत्पादन गर्दै आएका छन् । स्थानीय कृषक खड्गराज राजभण्डारीले भने,‘ विगतका वर्षहरुमा पनि तरकारी खेती गरिरहेका थियौ, तरकारीको लागि उपयुक्त ज्ञान तथा प्रविधिको अभावमा सोचे जस्तो आम्दानी लिन सकिरहेको थिइन तर वडा कार्यालयको पहलमा भईरहेको विभिन्न खाले कार्यक्रमले यस तर्फ लाग्न थप हौसला मिलेको छ, तरकारीबाट राम्रै आम्दानी गरिरहेको छु ।’

तरकारीको राम्रो सम्भावना रहेको यस क्षेत्रका अन्य कृषकहरुले पनि आफ्नै लगानीमा पनि व्यवसायीक रुपमा खेती गरेका छन् । व्यवसायमा लाग्ने कृषकलाई लक्षित गरेर वडा कार्यालयले तालिम तथा विभिन्न समयमा उन्नत जातको विउ विजनसंगै फलफूल जातका विरुवा समेत दिने गरेको उनीहरुले बताउने गरेका छन् । आगमी दिनमा समेत साथ सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने कृषकहरुको भनाइ छ । विदेश जानु भन्दा तरकारी खेती गरे राम्रो आम्दानी दिन सकिने उनीहरुको अनुभव रहेको छ ।  स्थानीय तरकारी कृषक प्रतिक्षा श्रेष्ठले भनिन्,‘ वडा कार्यालयले पनि केहि मात्रमा सहयोग गरेको छ, वडामा कम मात्रामा बजेट हुने भएकोले हामी आफैले पनि लगानी गरेर व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छौ, व्यवसायी बनेर काम गर्न सके यहि राम्रो आम्दानी छ, पैसा कमाउनको लागि विदेश जानु पर्दैन तर काम गर्ने इच्छा हुनु पर्यो ।’ वडा कार्यालयले विनियोजित बजेट मध्येबाट कृषिलाई प्राथमिकता दिएको छ । कृषिका क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संस्थासंग सहयोग मागेर कृषकको मागलाई पुरा गर्ने गरेको छ । वडा कार्यालयले आफ्नो तर्फबाट एक÷एक ओटा टनेल वितरण गरेको छ,भने भू– तथा जलाधार कार्यालयसंग माग गरेर गरिब तथा विपन्न परिवारलाई लक्षित गरी २२२ परिवारलाई प्लाष्टिक टनेल वितरण गरेको वडा कार्यालयले जनाएको छ ।  वडा क्षेत्रका स्थानीयलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष जसबहादुर राईले बताए । राईले भने,‘नगरपालिकाको करोडौं बजेटबाट हामीलाई जम्मा ५० लाख बजेट दिन्छ, त्यसमा सामाजिक सुरक्षाभक्ता, लक्षित वर्गको बजेट धेर हुन्छ लक्षित वर्षलाई वितरण गर्दा विकास वजेट कति नै हुन्छ र ? तर पनि हाम्रो क्षेत्र तरकारीको लागि उपयुक्त रहेकोले यसलाई प्राथमितामा राखेको छु, वडाको बजेटले नपुग्ने भएपछि विभिन्न कार्यालयलाई हारगुहार गरेर भएपनि कृषकको मागलाई पुरा गरिरहेको छु ।’ वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रसंशायोग्य मानेका छन् । वडा स्तरमा थोरै मात्र बजेट हुने भएपनि त्यसलाई उचित ढंगले प्राथमिकता निर्धारण गरेर वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको यो काम धेरैको लागि उदाहरणीय रहेको स्थानीय जानकारहरुले बताउने गरेका छन् । वडा कार्यालयले कृषकलाई सिंचाईको लागि स–साना प्लाष्टिक पोखरी समेत सहयोग गर्दै आएको छ । कृषकहरुले समय अनुसारको तरकारी उत्पादन गरेर विक्री वितरण गर्दै आएका छन् ।

वडाले आफ्नै पहलमा सबै वडामा विद्युत समेत विस्तार गरिसकेको जनाएको छ । वडा कार्यालयले अब चाडै उज्यालो वडा घोषणा गर्ने वडाध्यक्ष राईले बताए । ‘हुनत यो सदरमुकाम नजिकैको वडा हो, तर यहाँका सविकका ४ ओटा वडाहरु विद्युतबाट बञ्चित थिए, मैले गत वर्ष नै स्थानीयको विद्युत बाल्ने चाहना पुरा गरिसके अब उज्यालो वडा घोषणाको तयारीमा छौ ।’ वडाध्यक्ष राईले भने । आफ्नो क्षेत्रका पर्यटकिय क्षेत्रको विकासका लागि विभिन्न खाले योजना बनाएको भएपनि रकम अभावले ति कामहरुलाई पूर्णता दिन समस्या उत्पन्न भएको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राईले भने,‘ हाम्रो वडामा विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्र छन् त्यसको विकासमा लागि परेको छु तर के गर्नु वडामा आएको थोरै बजेटले खास के नै गर्न सकिदो रहेछ र । केन्द्र र प्रदेश सरकारलाई बजेट विनियोजन गर्न धेरै पटक अनुरोध गरे तर सम्बोधन भएन, इच्छाले मात्र पनि हुन्न रहेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार