भारतमा रहेका भोजपुरका नागरिकको उद्धार गरिने


भोजपुर, ११ जेठ ।भोजपुरबाट रोजगारीको शिलसिलामा भारत गई सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकहरुको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाई गरेपनि दिनरात लगाएर पैदल हिडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवर ल्याउने तयारी भएको हो । लुकेर आउने र उनीहरुको तथ्याङ संकलन समेत गर्न समस्या हुन थालेसंगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सिमा रहेको लेगुवाबाट मात्र ल्याउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । प्रजिअ पुरीले भने,‘ हामीले भारत नेपालको सीमा क्षेत्रमा रहेका भोजपुरका नागरिकलाई उद्धार गरेर ल्याउने तयारी गरेका छौ, सिमा क्षेत्रमा रोक्दा रातरात भागेर आउने क्रम देखिएपछि झनै संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षित तरिकाबाट क्वारेन्टाइनमा राख्ने गरी ल्याउने तयारी गरेका हौ ।’
पहिलो चरणमा पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका लगाएतका नागरिकको उद्धार गरिने जनाइएको छ । उद्धार गरिएको नागरिकलाई राख्नका लागि अरुण गाउँपालिका वडा नं ६ र ७ मा रहेका कोशी प्राथमिक विद्यालय, सूर्योदय प्राथमिक विद्यालय र जनश्रमदान बालकल्याण प्राथमिक विद्यालयमा ८० बेड क्षमतामा होल्डिङ एरिया छनोट गरिएको छ । आफ्नो जिल्लाका नागरिकहरुलाई उद्धार गर्नु स्वागत योग्य भएपनि संक्रमणको डरसंगै उनिहरुलाई व्यवस्थान गर्न आर्थिक समस्या हुने भएकाले सवैले सहयोग गर्नु पर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले भने,‘ यो स्वागत योग्य काम हो, तर जोखिमको सम्भावना पनि त्यतिकै मात्रामा छ, तत्काललाई होल्डिङ एरिया हाम्रो गाउँपालिकामा बनाउने तयारी रहेकोले आर्थिक रुपमा अन्य स्थानीय तहले पनि सहयोग गर्न आवश्यक छ ।’


उद्धार गरिएका नागरिकलाई होल्डिङ एरियामा राखेर स्वाब संकलन परीक्षण गरे पश्चात रिपोर्ट नेगेटिभ आए सम्वन्धित स्थानिय तहको क्वारेन्टाईनमा पठाईने तथा पोजेटिभ आएमा उपचारका लागी धरान अथवा विराटनगरको कोराना विषेश अस्पताल पठाईने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको भनाइ छ । नेपाल र भारतको सिमना काँकारभिट्टा, सुनौली लगाएतका ठाउँमा रहेका पौवादुङमा गाउँपालिका १० आमचोक गाउँपालिका, १७ षडानन्द नगरपालिकाका ६ र साल्पासिछो गाउँपालिका ९ जना सम्पर्कमा रहेकोले उनीहरुलाई ल्याउने तयारी गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार