भोजपुरमा सवारीपास दुरुपयोग गर्नेलाई कारवाही


भोजपुर, ७ जेठ । जिल्ला प्रशासन कार्यालय भोजपुरले लकडाउनको समयमा सवारी पास लिएर गलत प्रयोग गर्ने माथी कडा निग्रानी बढाएको छ । प्रशासनले अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जन गुनासो आएपछि छड्के अनुगमन थालेको हो । दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुने लगाएतका सवारी साधनलाई पास दिएको भएपनि कतिपयले पासको दुरुपयोग गरेको गुनासो आएसंगै वितरणमा कडाई गर्दै कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

पासको दुरुपयोग गर्ने तथा प्रहरीले विना पास सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याउन थालेको छ । छड्के अनुगमनका क्रममा विना पास सञ्चालन भईरहेका तीन वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अति आवश्यक बाहेक अन्य सवै सवारी साधनलाई पूर्णरुपमा वन्देज गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।

प्रजिअ पुरीले भने,‘ निर्माण कार्यसंगै अन्य अत्यावश्यक बाहेका सवारी साधन सञ्चालनमा कडाई गरेका छौ, विना पास सवारी चलाएको तथा पास भएकाले पनि गलत प्रयोग गरेको जन गुनासो बढेपछि निग्रानी बढाएर कारवाहीको दायरामा ल्याएका छौ ।’ प्रशासनले अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार