(भिडियो सहित) पौवादुङमा गाउँपालिकाद्धारा दुई महिना खान पुग्ने गरि २६ सय परिवारलाई राहत वितरण


भोजपुर, १९ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोरोना भाइरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका दुई हजार ६ सय बढी परिवारलाई दुई महिना सम्म खान पुग्ने गरि राहत वितरण गरेको हो । लकडाउनसंगै विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोपबाट पीडित भएका स्थानीयलाई राहत दिएको गाउँपालिको जनाएको छ । गाउँपालिकाले तीन महिना भन्दा कम समय खान पुग्ने परिवारको पहिचान गरेर ५० केजी चामल, नुन, सावुन लगाएतका सामाग्री वितरण गरेको छ । गाउँपालिकाले वडा नं –१ श्यामशिलाका ५२५, वडा नं –२ तिवारीभञ्याङका ४७९, वडा नं – ३ च्याङग्रेका ४९२, वडा नं– ४ बास्तीमका, ३९४, वडा नं– ५ सानोदुङमाका ४२० र वडा नं– ६ ठुलोदुङमाका ३२६ गरी २६ सय ३६ परिवारलाई राहत गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । गाउँपालिकाले अन्य स्थानीय तहको तुलनामा धेरै परिमाणमा गुणस्तरिय चामल वितरण गरेकोमा स्थानीय खुसी भएका छन् । पौवादुङमा गाउँपालिका –१ श्यामशिलाका स्थानीय राजेन्द्र तामाङले भने,‘‘ गाउँपालिकाले राहत वितरण गरेको प्रति एकदम खुसी लागेको छ, अन्य ठाउँमा १० केजी २० केजी राहत दिएको समाचार सुन्दै आएका थियौ तर हाम्रो गाउँपालिकाले करीब दुई महिना खान पुग्ने गरी ५० केजी चामल सहित अन्य सामाग्री दिएकोमा अत्यन्तै खुसी लागेको छ, सरकारले हेर्ने भनेको हामीलाई दुख परेको वेला त हो नी ।’’

गाउँपालिकाले ६ वटै वडामा विभिन्न टोलबाट समय तालिका निर्धारण गरि ४ दिन लगाएर राहत वितरण गरेको हो । वितरण गर्ने ठाउँमा सामाजिक दुरी कामय गरी स्वास्थ्य परिक्षण गराएर स्थानीयलाई चामल वितरण गर्ने व्यवस्था मिलाएको जनाइएको छ । पहिलो चरणमा वितरण गरिएको भएपनि आगामी दिनमा समेत समस्यामा परेका परिवारको पहिचान गरेर राहत पुनः वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। अध्यक्ष राईले भने,‘‘ हामीले स्थानीय नागरिकको समस्यालाई बुझेर बढी नै परिमाणमा राहत वितरण गरेका छौ, हामीले दिएको राहतले कम्तीमा पनि यो समस्यामाको वेलामा दुई महिना सम्म खान पुगोस भन्ने लक्ष्य हो, यो पहिलो चरणको राहत हो, आगामी दिनमा पनि समस्यामा परेमा उनीहरुलाई पहिचान गरेर पुन ः वितरण गर्ने लक्ष्य छ ।’’

गाउँपालिकाले वितरण गरेको सामाग्रीको गुणस्तर तथा वितरण गर्ने स्थलमा अपनाईएको सजकताका विषयमा नेपाल मानव अधिकार संगठन भोजपुरले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा गाउँपालिकाले वितरण गरेको खाद्यन्न गुणस्तरिय पाईएकोले अन्य स्थानीय तहले पनि सो को अनुुशरण गर्नु पर्ने नेपाल मानव अधिकार संगठन भोजपुरका अध्यक्ष निमा शेर्पाले जानकारी दिए । शेर्पाले भने,‘‘ देशमा धेरै ठाउँमा राहत वितरणको क्रममा विभिन्न खाले समस्या देखिएकोले हामीले यस स्थानीय तहले वितरण गरिरहेको ठाउँको स्थलगत अनुगमन गरेका छौ, वितरणको लागि ल्याएको चामल गुणस्तरिय छ, भने आवश्यक मापदण्ड पुरा गरेर सवै नागरिकलाई न्यायोचित ढंगले वितरण गरेको पाईयो, यो प्रणाली जिल्लाका अन्य स्थानीय तहले पनि अनुशरण गर्न आवश्यक देखियो।’’ गाउँपालिकामा करिव ३३ सय घर परिवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार