स्वास्थ्य सामग्री बोकेर मुख्यमन्त्री शेरधन राई सहितको टोली भोजपुरमा


भोजपुर १३ बैशाख । हतुवागढी गाँउपालिका–६ का २६ वर्षीय एक पुरूषमा वैशाख ११ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएपछि वैशाख १३ गते सो क्षेत्रमा प्रदेशका मन्त्रीहरूले अनुगमन गरेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे, भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगर, फष्ट रैफल गण भोजपुरका गणपती बसन्त बहादुर गौतम, राष्ट्रिय अनुसन्धान भोजपुरका प्रमुख दयाकृण पोखरेल, स्वास्थ्य कार्यालय भोजपुरका निमित प्रमुख फडिन्द्र थापा र गाँउपालिका अध्यक्ष प्रेमकुमार राईलगायत सम्मिलित टोलीले हतुवागढी क्षेत्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मुख्यमन्त्री शेरधन राईले कोरोना प्रभावित क्षेत्रका स्थानीयहरुलाई त्रसित नभई बस्न आग्रह गरेका छन् । जिल्लाभरी नै कोरोना भाइरसको परीक्षण प्रभावकारी बनाउने,स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्य मन्त्री राईले बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश भरीमा भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तथा सुरक्षाकर्मी परिचालन गरी क्वारेन्टाइनको कडा निगरानी गरिने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मी,स्वास्थ्य उपकरणलगायतको व्यवस्थापन तत्काल गरिने बताउनुभयो । उहाँले चिकित्सकको सल्लाह बमोजिम कोरोना नियन्त्रणका लागि उदयपुरसहित अन्य क्षेत्रमा अस्थायी कोरोना अस्पताल निर्माणका लागि गृहकार्य थालेको बताए । अनुगमनका क्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जिल्लामा कुनै समस्या आए तत्काल प्रदेश सरकारसँग सहयोग मागिने बताए । त्यस्तै डिएसपी नरबहादुर सलामी मगरले जिल्लाका नाका तथा सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइने बताए ।

विदेशबाट फर्किएका युवामा कोराना सङ्क्रमण देखिएकाले तत्काललाई हतुवागढीलाई पीपीइ दश थान,थर्मल गन चार थान,आरडीटी किट एक सय थान, सेनिटाइजर ६० ओटा, पञ्जा एक हजार थान र एन ९५ मास्क ५० ओटा प्रदेश सरकारले गाँउपालिकालाई उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार