हतुवागढीमा कोरोना पुष्टिभएसंगै पौवादुङमा गाउँपालिका प्रवेशमा रोक


भोजपुर,१२ वैशाख ।

भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसंग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाई गरिएको छ । पौवादुङमा गाउँपालिका–६ ठुलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सीमाना पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

त्यस्तै मार्ताङ नाकासंगै र धनकुटासंग सीमा जोडिएको अधेँरीघाट नाकामा क्वारेन्टाइन निर्माण गरिएको र कोहि सुरक्षाकमीको आँखा छलेर लुकीछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिन सम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश गर्न दिईने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । राईले आफ्ना नागरिकलाई जहाँ छन् त्यहा सुरक्षित रुपमा बस्न अनुरोध गर्दै गाउँपालिका भित्र पनि आवत जावतमा पूर्णरुपमा बन्द गरिएको बताए ।

अध्यक्ष राईले भने,‘ हाम्रो सीमा जोडिएको स्थानीय तहमा कोरोना पुष्टि भइसकेको छ, अब हामी अझ सचेत हुने अवस्था आएको छ यसर्थ हतुवागढी गाउँपालिकासंग सीमा जोडिएका क्षेत्रबाट आवत जावतमा कडाई गरेका छौ, भने गाउँपालिकाका नागरिकलाई अन्य क्षेत्रमा जान पूर्ण रुपमा बन्द गरेका छौ, गाउँपालिका बाहिर रहेका आफ्ना ठाउँका नागरिकलाई गाउँपालिकाले राहतको व्यवस्था मिलाएको छ ।’

सुरक्षाकर्मीसंगै सवै वडाका स्थानीय युवाहरु सीमा नाकाको सुरक्षामा रहेको जानकारी दिए ।‘ सुरक्षाकर्मीसंगै स्थानीय युवाहरु आफै आफ्नो ठाउँको सुरक्षामा लागेका छन्, मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहा पनि कडाई गरिएको छ, कतिपय अवस्थामा एम्वुलेन्सको प्रयोग गरेर मानिसहरु ओसार – प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनहरुले पनि मानिसहरु ओसार प्रसार गरेको पाईएकोले  त्यसो नगर्न हामीले अनुरोध गरेका छौ, त्यस्तो भेटिएमा कारबाहीको दायरामा ल्याइने छ ।’ अध्यक्ष राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार