अन्तत् पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार


काठमाडौ, ३० फागुन । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो । छलफलले उपत्यकाको राइड सेयरिङको नियमन गर्ने विषय प्रदेशअन्तर्गत पर्ने भएकाले राइड सेयरिङ रोक्न नसकिने निष्कर्ष निकालेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले संविधानले नै सवारी तथा यातायातको नियमनलगायतको काम प्रदेशअन्तर्गत तोकिसकेको र बाग्मती प्रदेशको सवारी तायातसम्बन्धी ऐनको दफा १३ मा यसबारे स्पष्ट व्यवस्था भएको भन्दै यो नियमन गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषय प्रदेश मातहतको भएको जनाउँदै आएका थिए । मन्त्री नेम्वाङले यस्ता समस्यालाई चाँडो कानुनी दायराभित्र ल्याएर हल गर्ने पक्षमा आफू रहेको बताउँदै नीतिगत रूपमा सुधार गर्नुपर्ने के के विषय हुन्, त्यसलाई सुधार गरेर जानुपर्नेमा आफू रहेको बताएका छन् ।

ट्याक्सी व्यवसायीको चर्को विरोधपछि यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै टुटल र पठाओको नाम नै उल्लेख नगरी तिनीहरुले दिँदै आएको राइड सेयरिङ सेवामाथि रोक लगाएको थियो । सूचना जारी भएलगत्तै त्यसको चौतर्फी विरोध भएको थियो ।सूचनामा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था विपरित भएको जनाएको थियो । विभागले त्यसो गरेको पाइएमा सोही ऐनबमोजिम कारबाही गरिने र सो सम्बन्धमा विभाग मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट कडाइका साथ अनुगमन गरिएको थियो ।

गत मंसिरमा पनि विभागले यस्तै सूचना जारी गरेको थियो । त्यस समयमा पनि मन्त्री नेम्वाङले यथावत् रूपमा सञ्चालन गर्न निर्देशन दिए पनि पुनः टुटल र पठाओ निर्बाध रूपमा सञ्चालनमा आएका थिए ।निजी प्रयोजनका लागि निकालिएका सवारीसाधनमा यात्रु बोक्न नपाइने भन्दै मंगलबार ट्याक्सी व्यवसायी यातायात विभागमा पुगेका थिए । लगत्तै विभागले सूचना जारी गरेको थियो । राइड सेयरिङ टुटल र पठाओमाथि यसअघि नै दुईपटक प्रतिबन्ध लगाएर पुनः फुकुवा गरिएको थियो । तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल र पठाओ बन्द गर्ने प्रयास भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गर्न चाहेनन् । चौतर्फी विरोधपछि प्रधानमन्त्रीले नियमन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्ने पक्ष लिएपछि टुटल र पठाओ पुनः निर्बाध रूपमा सञ्चालनमा आएको थियो ।

पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले मंसिर पहिलो साता सूचना जारी गर्दै एउटा प्रयोजनका लागि दर्ता गरेर अर्कै प्रयोजनमा प्रयोग गर्ने सवारीसाधनमाथि कारबाही गर्ने चेतावनी दिएर पठाओ र टुटल बन्द गर्न खोजेको थियो । मन्त्री नेम्वाङले आफ्नै कार्यकक्षमा बोलाएर यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई ऐन नियममा संशोधन गर्नुपर्ने भए प्रतिवेदन बुझाउन निर्देशन दिँदै यथावत् सञ्चालन गर्न निर्देशन दिएका थिए । उनले प्रतिवेदन नआउन्जेलसम्म पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएका थिए ।

टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सेवा दिँदै आएको छ । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन् । टुटल र पठाओमा करिब ५० हजार राइडर आबद्ध छन् । आजको राजधानी दैनिकमा खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार