जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना, वडा सचिवको मृत्यु


गोरखा, २२ फागुन । गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बोकेको बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो । घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल्य, गोरखाका इञ्चार्ज सुकबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते भएका छन् । यीमध्ये चारको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी इञ्चार्ज बिकले जानकारी दिए ।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई काठमाडौ‌ं पठाइएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार, अपांगता परिचयपत्र वितरणका लागि काशीगाउँतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार, जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार