सरकारको खुट्टा तान्ने प्रचलनको अन्त्य भएको छ : मुख्यमन्त्री राई


खोटाङ, १४ फागुन । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै उहाँले यो युग हाम्रो युग भएको बताउनुभयो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री राईले देशमा पहिलो पटक स्थिर र बलियो सरकार बनेको बताउनुभयो । “यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायीत्वको युग हो”, उहाँले भन्नुभयो, “देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एक जुट हुनुपर्ने अवस्था आएको छ ।” “बिगतमा एउटा सरकार ढालेर फेरि नौँ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।” प्रदेश नम्बर–१ पर्यटकीय क्षेत्रको अथाह सम्भाना बोकेको प्रदेश भएकाले आ–आफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो । “आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवद्र्धनमा लाग्नुहोस्”, उहाँले भन्नुभयो, “कृषि तथा पर्यटन नै प्रदेश नम्बर–१ को समग्र विकासको प्रमुख आधार हो ।”

फागुन–१५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिनुभएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रर्वद्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोस्तवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो । महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको साँस्कृतिक तथा परम्परागत झाँकी, साँगीतिक कार्यक्रम, खेलकुद लगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गृहबहादुर राईले बताउनुभयो । चारैतिर रमणीयडाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा बाह्रै महिना टम्म पानी रहने गरेको स्थानीयवासीले बताएका छन् । अग्लोडाँडामा शुद्ध पानी टम्म भरिएको बहानेपोखरी २०० मीटर क्षेत्रफल जमिनमा फैलिएको छ ।

आफैमा ऐतिहासिक महत्व बोकेको बहानेपोखरीमा महोत्सव गर्दा सबैको ध्यान केन्द्रीत गर्न र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रथम पटक ‘बहानेपोखरी महोत्सव’ आयोजना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । “बहानेपोखरीको पूर्वतर्फ शङ्ख ढुङ्गा, नाग ढुङ्गा, स्तुपाहरु र केहीमाथि विभिन्न आकृतिका संरचनाहरु अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “पोखरी आसपासमा पाइने लोपोन्मुख रेडपाण्डा, चौरी, भेडा र विभिन्न प्रजातिका जीवजन्तु अवलोकन गराउँदै आगामी दिनमा थप पर्यटक तान्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।” बहानेपोखरीबाट खोटाङको अधिकांश स्थान, तराईका फाँट, विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा हिमाली श्रृङ्खला अवलोकन गर्न सकिन्छ । भदौरे जनैपूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन धामी झाँक्री सहित विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको उपस्थितिमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

समुन्द्री सतहदेखि करीब दुई हजार ७०० मीटर उचाईमा अवस्थित बहानेपोखरीमा नयाँ वर्षमा ठूलो संख्यामा युवा पुस्ता वनभोज ९पिकनिक० जाने गरेका छन् । पोखरी आसपास शेर्पा समुदायको घनाबस्ती रहेको छ । आगामी दिनमा उक्त शेर्पाबस्तीलाई घरबास ९होमस्टे०का रुपमा विकास गर्ने योजना समेत रहेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभएको छ । अर्गानिक कृषि उपज प्रयाप्त उत्पादन हुने उक्त क्षेत्र होमस्टेका लागि उपयुक्त ठाउँ हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार