देशमा संघीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ : मुख्यमन्त्री राई (भिडियो सहित)


भोजपुर,१३ फागुन
प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भईरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभुति गर्न पाएको भएपनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाई छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम साँस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनको लागि गृह जिल्ला आएका राईले ३ तहको सरकार कार्यन्वयनमा आएपछि विकासको लहर आएको धाराणा राखे । मुख्यमन्त्री राईले भने ‘ देश संघीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षडयन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नै पर्छ ।’
यतिवेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै उनले जनतालाई छल्ने, वाहना बनाउने कुनै छुट नभएको समेत बताए । साथै उनले जनताको प्रत्यक्ष निग्रानीमा बसेर काम गर्न जनप्रनिनिधिहरुलाई आग्रह गरे । ‘जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन ।’ मुख्यमन्त्री राईले भने ,
अहिले सानामसिना योजनाको लागि काठमाण्डौ धाउनु पर्ने अवस्था नरहेको बताउँदै उनले ठुला लगानीका योजनाहरुलाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसंग रहेकोले विकास भएन भनेर नडराउन समेत उनले आग्रह गरे । मुख्यमन्त्री राईले भने ‘ अहिले योजनाको काम भएन भन्दै काठमाण्डौका मन्त्रालय धाउनु पर्ने अवस्था छैन्, कतिपय साना योजनाको काम स्थानीय सरकारले गरिरहेको छ, त्यसभन्दा माथीका ठुला योजना प्रदेश सरकारले सञ्चालन गर्न सक्ने अवस्था छ, हाम्रो क्षमताले पुगेन भने मात्र केन्द्र सरकारले ध्यान दिने हो, यसर्थ अहिले विकासका काम सञ्चालन गर्न सहजता छ ।’

जनताको भलाईलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उनले भोजपुरको शिर उच्च राख्ने गरि आफूले प्रदेशको नेतृत्व गरिरहेको बताए । ‘मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईहरुले म माथि गर्नु भएको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अवको केहि वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, तपाईले साच्चै विकासको अनुभुति गर्न पाउनु हुन्छ ।’
मुख्यमन्त्री राईले आफ्नो कार्यकाल भित्र जिल्लामा आवश्यक मुख्य सडक, पक्की पुल र विद्युत विस्तारको काम पुरा हुने दावी गरे । ‘ जनताको आवश्यकताका आधारमा भोजपुरलाई उत्तर– दक्षिण जोड्ने मुख्य सडक, पुल र विद्युतिकरणको काम मेरो कार्यकालमा पुरा गर्छु र कतिपय काम त शुरु भईसकेका छन् ।’
उनले गाउँपालिकाको आयोजना गरेको महोत्सवले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउन टेवा मिलेको बताए । पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने लक्ष्यका साथ आयोजना हुने यस्ता मेला महोत्सवले स्थानीय सरकारलाई आर्थिक रुपमा मजबुत बनाउने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार