भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास


भोजपुर, ११ फागुन ।
भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार महिनामा सम्पन्न गर्ने गरि पक्की पुलको शिलान्यास गरिएको छ ।
स्वीस सरकारको करिब रु. ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न मिल्ने गरि बनाइने स्थानीय सडक, पुल कार्यक्रमका प्रदेश १ संयोजक, मङ्केश्वर ठाकुरले जानकारी दिए ।
पुलको सिविल निर्माण कार्यको लागि रु. दुई करोड तीन लाख २४ हजार ३७१ रुपैयामा कार्की वन्धु कन्सट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको छ, भने अन्य ट्रस जडानको कामको लागि अर्को कम्पनीसंग सम्झौता गर्ने तयारी भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेसनको १ स्पानमा बन्ने पुलको दुवै पट्टी पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान हुने कार्यालयको भनाई छ । पुलको डिजाइन अवधी ८० वर्ष रहेको र भूकम्प प्रतिरोधी बन्ने निर्माण कम्पनीको भनाइछ ।
प्रदेश सरकारले सो खोलामा पुल निर्माणका लागि काम गर्ने तयारी गरिरहेको भएपनि स्वीस सरकारले पनि पक्की पुल निर्माणको लागि आर्थिक सहयोग गर्ने भएपछि मुख्यमन्त्री शेरधन राईको पहलमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । प्रमुख रेड्डीले भने ‘ हामीले प्रदेश सरकार अन्तर्गत पुल निर्माण गर्ने तयारीमा थियौ, तर स्वीस सरकारले पनि आर्थिक सहयोग गर्ने जनाएपछि मुख्यमन्त्रीको पहलमा यसको काम अगाडी बढाएका हौ, यसलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गर्न हाम्रो कार्यालयले पनि भूमिका खेल्ने छ ।’


यो पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेछ । यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्का सम्म कालोपत्रे गर्ने गरि काम अगाडी बढाउने प्रदेश सरकारले जनाएको छ ।

जसको लागि उदयपुरको मैनामैनी सम्म टेन्टर प्रक्रिया सम्पन्न भई काम शुरु भएको छ भने, त्यस यताको सडकको टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले बताए । प्रमुख रेडडीले भने ‘ भोजपुरलाई तराईका जिल्लासंग जोड्ने यो सवैभन्दा छोटो सडक हो, यसलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर कालोपत्रेको काम शुरु गरेको छ, यसै अनुरुप उदयपुरको मैनामैनी सम्मको सडक कालोपत्रेको पक्रियामा गएको छ, भने दक्षिणबाट भोजपुर सदरमुकाम हुँदै किमाथाङ्का जोड्ने सडक कालोपत्रे गर्न टेन्डर प्रक्रियामा छ ।’
भोजपुुरमा प्रदेश सरकारको पूर्ण लागतमा ८ ओटा र प्रदेश सरकारको पहलमा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरि १० ओटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
पुल निर्माणको बारेमा आज निर्माण स्थलमा स्थानीय तथा सरोकारवाला बीच सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएसंगै भोजपुरको रामप्रसादराई र हतुवागढी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । खोलामा पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर यात्रा गर्दै आएका थिए ।पुलको जिल्ला समन्वय समिति प्रमुख लक्षमण खड्का, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई र रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले एक साथ शिलान्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार