भोजपुरको दिंलामा हेलिप्याड निर्माण


भोजपुर, २३ माघ । भोजपुरको दिङ्लामा हेलिप्याड निर्माण गरिएको छ । फस्ट राइफल गण भोजपुर र षडानन्द नगरपालिकाको साझेदारीमा दिङ्लाको टुडिखेलमा हेलिप्याड निर्माण गरिएको हो ।

हेलिप्याड निमार्णका लागि फस्ट राइफल गणले पहल र श्रम गरेको छ भने नगरपालिकाले सामग्री प्रदान गरेको छ । सेनाले ३ दिनदेखि निर्माण सुरु गरेको हेलिप्याड आज सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

हेलिप्याड गणका मेजर सन्तोष राउतले नगर प्रमुख वीरवल राईलाई हस्तान्तरण गरेका हुन् । यसअघि आपत्कालीन अवस्थामा विभिन्न ठाउँमा जोखिमपूर्ण तरिकाले हेलिकोप्टर अवतरण गर्नुपरेको अवस्थामा अब त्यस्तो समस्या हटेको नगरप्रमुख राईले बताए ।

हेलिप्याड निर्माणपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिकालगायत क्षेत्रका स्थानीयलाई आपत्कालीन अवस्थामा सेवा लिन सहज भएको नगरप्रमुख राईले बताए ।

आगामी दिनमा जिल्लाका अन्य पालिकाहरूसँग सहकार्य गरेर हेलिप्याड बनाउने योजना रहेको मेजर राउतले बताए । गणले यसका अलावा जिल्लाका विभिन्न स्थानीय तहसँग सहकार्य गरेर विपद् व्यवस्थापनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार