भिडियो सहित- पञ्चकन्या मावि च्याङ्ग्रेको अलपत्र भवनले पूर्णता पाउने


भोजपुर, २७ पुस ।
भोजपुरको पौवादुङमा गाउँपालिका – ३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ५ वर्ष देखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ ।
आपसी किचलोको कारण लामो समयबाट रोकिएको निर्माण कार्य प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाई गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । निर्माण समिति र स्थानीयको किचलोको कारण निर्माण ठप्प रहेको विद्यालय भवन निर्माणले निरन्तरता पाउने भएको हो ।

४० लाख लागतमा निर्माण गर्ने गरि थालिएको भवन निर्माणको काम ३० लाख खर्च भएपछि २०७२ सालबाट काम रोकिएको थियो ।
विद्यालयका प्रधानाध्यापक रामकुमार राईले भने‘ लामो समयबाट निर्माण कार्य अलपत्र थियो, प्रजिअको रोहवरमा निर्माण कार्य शुरु गर्ने निर्णय भएको छ, अब कामलाई निरन्तरता दिन्छौ ।’ भवन निर्माणको काम करिब अन्तिम चरणमा पुगेपछि स्थानीयले निर्माण समितिले अनिमियतता गरेको भन्दै अख्तियारमा उजुरी दिएका थिए । अख्तियारले छानविन गरेर कुनैपनि अनिमियतता नभएको भन्दै क्लिन चिट दिएको भएपनि काम रोकिएको थियो ।  भवनको अख्तियारले गरेको प्राविधिक मुल्याङ्कणमा विद्यालयले भुक्तानी गरेको भन्दा निर्माण समितिको बढी खर्च भएको देखिएको भएपनि त्यो रकम भने भुक्तानी नगर्ने निर्णय भएको विद्यालयले जनाएको छ । सवैको गुनासो सम्वोधन भएकोले अव कामले निरन्तरता पाउने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने‘ स्थानीयको कुरा सुन्दा व्यक्तिगत रिसइवीको कारण अख्तियारमा उजुरी परेको रहेछ, जिल्लामा अख्तियारको छानविन गर्ने जिम्मेवारी मेरो भएकोले यो पहल गरेको हुँ, अब काम अगाडी बढाउने निर्णय भएको छ ।’

विगतका वर्षमा गाउँपालिकाले आफ्नो केन्द्रमा रहेको सो विद्यालयलाई नमूना विद्यालय बनाउने योजनाका साथ बजेट विनियोजन गरेको तर निर्माण क्रममा केहि ब्यक्तिले गलत मनसायका साथ अख्तियारमा उजुरी दिएकोले वजेट खर्च नभएको जनाइएको छ । सवैको पहलमा निर्माण कार्यलाई अगाडी बढाउने सहमति जुटेकोले अव विद्यालयलाई नमूना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईले भने‘ विद्यालयको काममा अवरोध थियो, जसको कारण विगतमा गाउँपालिकाले विनियोजन गरेको बजेट खर्च भएन अव भने हामी नमूना विद्यालय बनाउने गरि काम अगाडी बढाउछौ ।’
काम गर्ने वातावरणतय भएकोले भवन निर्माण कार्यलाई निरन्तरण दिने विद्यालयले व्यवस्थापन समितिले जनाएको छ । कामलाई गुणस्तरिय तरिकाले सञ्चालन गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश भुजेलको भनाइ छ ।
विद्यालयको भवन निर्माण सम्पन्न भएपछि अहिले कक्षा कोठाका कारण उत्पन्न भएको समस्या समाधान हुने विद्यालयले जनाएको छ । विद्यालयमा केहि समय अघिबाट कम्यूटरसंगै वालिविज्ञान कक्षा समेत सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार