अत्याधिक रक्तश्रावपछि सुत्केरीको मृत्यु, चिकित्सकले माफी मागे


विराटनगर । विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको छ । प्रसूतिका लागि गत शुक्रबार साँझ सप्तकोशीमा भर्ना गरिएकी उनको भोलिपल्ट बिहान डा। योगेन्द्र मिश्र नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी मेनुकाको थप उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारराति ९ बजे मृत्यु भएको हो । पहिलो सन्तान चार वर्षका छोरा छन् । शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुनुका साथै पिसाव बन्द भएको देवर उमेश कटुवालले बताए । त्यस लगत्तै सुत्केरी महिलाले सहनै नसक्ने गरी पेट पोलेको बताउन थालेपछि चिकित्सकको खोजी गर्दा पनि नभेटेको र साँझ चिकित्सक आइपुग्दा अवस्था अन्तिम बनिसकेको उनको भनाइ छ । ड्युटीमा खटिएका स्टाफ नर्सहरुले पनि सुत्केरीको अवस्था गम्भीर बन्दासम्म चिकित्सकलाई बोलाउन नमानेको उमेशले बताए ।

अत्यधिक रक्तश्राव, पिसाव बन्द तथा पेट पोलेर सहनै नसक्ने अवस्था भएपछि र रक्तचाप समेत कम हुँदै गएपछि डा। मिश्रले नै सुत्केरी मेनुकालाई गत शनिबारराति धरान रेफर गरेका थिए । उमेशका अनुसार धरान पु¥याएर थप उपचार थालिए पनि त्यतिबेलै चिकित्सकले बिरामी बचाउन सक्ने अवस्था नभएको भन्दै आस कम गर्न भनेका थिए । ‘तर पनि बचाउने प्रयास गर्छौ’ भन्दै भेन्टिलेटरमा राखेर चिकित्सकले उपचार थालेको उनको भनाइ छ ।शल्यक्रियाका क्रममा नसा नै काटिएकाले रक्तश्राव नरोकिएको जानकारी धरानमा उपचारमा संलग्न चिकित्सकले दिएको मेनुकाका श्रीमान महेश कटुवालले बताए । भिडियो एक्स्रेबाट पेटमा रगत तथा विकार पदार्थ जमेको देखिएपछि त्यसलाई बाहिर निकाल्न चिकित्सकले दोस्रो पटक धरानमा पनि शल्यक्रिया गरिदिएको उनको भनाइ छ । दोस्रो शल्यक्रियाबाट पनि पिसाव नखुलेको र रक्तचाप कमनै रहेको महेशले बताए । लापरबाहीपूर्ण तरिकाले शल्यक्रिया गरेर बच्चा निकालिएका कारण श्रीमती गुमाउनु परेको उनको गुनासो छ । सुत्केरीको रक्तश्राव नरोकिएपछि धरानमा मात्रै १५ पिन्ट रगत चढाइएको थियो । एकै दिन आठ पिन्टसम्म रगत चढाउनु परेको महेशले बताए ।

उनले अवस्था अन्तिम भएपछि र आफ्नो लापरबाही हैन भन्ने देखाउन मात्रै चिकित्सकले अर्को अस्पतालमा रेफर गरिदिएको बताए । थप उपचारका लागि धरान पु¥याउँदा बिरामी ल्याउन दुई घण्टा जति ढिलो भएको चिकित्सकले बताएको जानकारी महेशले दिए । ‘उपचार गर्न नसक्ने हुँदा चाँडै रेफर गरिदिएको भए अर्को अस्तपालमा लगेर श्रीमतीलाई बचाउने थियौं,’ उनले भने, ‘शल्यक्रियासँगै रेफर गर्ने विषयमा पनि अर्को लापरबाही हुँदा बच्चा जन्माउन अस्पताल पु¥याइएकी श्रीमतीलाई जीवित फर्काउन सकिएन ।’

उनीबाट जन्मिएकी नवजात शिशु भने स्वस्थ्य छिन् । सुत्केरीको मृत्युपछि उत्पन्न विवाद साम्य पार्न भएको वार्तामा छोरीको ७ वर्षसम्म निःशुल्क उपचार गरिदिने र स्नातकसम्मको शिक्षादीक्षाको व्यवस्था अस्पतालले मिलाइदिने सहमति भएको छ । वार्तामै बसेका डा। मिश्रले आफूबाट लापरबाही नभएको जिकिर गर्दै सुत्केरीको निधन भएको घटनाप्रति माफी मागेका छन् । डा। मिश्रले प्रसूति भन्ने विषय नै जटिल भएको उल्लेख गर्दै शल्यक्रियामा आफ्नो कुनै लापरबाही नभएको दाबी गरे । ‘शल्यक्रिया गरिएपछि बन्द भएको पिसाव खुलाउन औषधि दिइए पनि त्यसले काम गरेन,’ उनले भने, ‘त्यही भएर अर्को अस्पतालमा रेफर गरिएकोमा सुत्केरीको दुःखद् निधन भएछ ।’

घटनालाई लिएर चिकित्सकले माफी माग्दै सन्तानको उपचार तथा शिक्षादीक्षाको जिम्मा अस्पतालले लिनुले नै शल्यक्रियाका क्रममा लापरबाही भएको प्रष्ट हुने स्थानीय वीरबहादुर कार्कीले बताए । चिकित्सकको गम्भीर लापरबाहीकै कारण शल्यक्रियापछि पिसाव बन्द भएको, पेट पोलेर शरीर थप सिथिल बन्दै गएको र रक्तश्राव नरोकिने समस्या सुत्केरीमा देखिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार