प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख


काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ । डा.श्रेष्ठले भने, ‘हामीले एकमुस्ट रकम हिसाब गरेर यो खर्च निकालेका हौं । उहाँलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको हो ।’ १० दिनअघि एपेण्डिसाइटिसको अप्रेसन गरेका प्रम ओली १० दिनपछि आज डिस्चार्ज भएका हुन् ।

गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन मनमोहन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । निर्देशक श्रेष्ठले भने, ‘यो पटक अप्रेसन गरेको भएकाले उपचार खर्च बढेको हो ।’उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् ।अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका प्रम ओलीले अस्पतालका चिकित्सकलाई धन्यवादसमेत दिए। उनी निस्किदै गर्दा भने, ‘यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु। म ठीक भएर फर्केको छु।’

चिकित्सकका अनुसार अप्रेसन गरेको बाहिरी घाउ निको भए पनि भित्री घाउ निको हुन केही समय लाग्नेछ । हिँडडुल गर्न तथा धेरै उठबस नगर्न प्रम ओलीलाई चिकित्सकहरुले सल्लाह दिएका छन् । उपचारमा संग्लग्न एक चिकित्सकले भने, ‘अब उहाँ नियमित काम गर्न सक्नु हुनेछ । तर, अप्रेसनको घाउ बल्झिन सक्ने भएकाले आरामको जरुरत धेरै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार