नेपाल टेलिकम प्रहरीको प्रायोजक


काठमाडौं,१२ मंसिर नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । यससम्बन्धी दुवै निकायबीच बुधबार सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीका तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका थिए । सो प्रायोजनबापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरे । सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्नेछन् । जर्सीको अगाडि भागको माथि दाहिनेपट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिनेछ ।

त्यसैगरी, हाफ पाइन्टको अगाडि भागको बायाँपट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी, नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीलाई निःशुल्क प्रयोग गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार