आर्थिक विकासको दृष्टिकोणले दक्षिण एसियामा नेपाल दोस्रोस् मुख्यमन्त्री पोखरेल


तुलसीपुर,११ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् । प्रेस संगठन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले दक्षिण एसियाको सन्दर्भमा नेपाल दोस्रो स्थानमा पुगेको बताए ।

दक्षिण एसियामा बंगलादेश पहिलो भए पनि नेपालले भारतलाई आर्थिक वृद्धिदरका दृष्टिकोणले उछिनेर दोस्रो स्थानमा पुगेको धारणा राखे । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणापछि नेपालमा कुल ग्राहस्थ वृद्धिदर उल्लेख्य वृद्धि भयो । संविधान जारी हुनु पूर्व नेपालको कुल ग्राहस्थ औसत ३ देखि ४ प्रतिशत हाराहारीमा कुल उत्पादनको वृद्धि दर थियो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘अहिले झन्डै ७ प्रतिशतको हाराहारीमा छ ।

गएको वर्ष ७ दशमलव १ प्रतिशत थियो । यो हिसाबले नेपाल अब विकास र समृद्धिको दिशामा अघि बढ्यो भन्ने कुराको पुष्टि हुन्छ ।’

आर्थिक वृद्धिदरका हिसाबले नेपालमै प्रदेश ५ पहिलो भएको दाबी गर्दै राम्रो काम गर्दागर्दै पनि प्रतिपक्षले केही भएको छैन भनेर गलत प्रचारबाजी गरेको जिकिर उनले गरे ।

नाकाबन्दी गरेका बेला नेकपाकै नेतृत्वको सरकारले भारतलाई घुँडा टेकाउन बाध्य पारेको दाबी गर्दै यसपटकको सीमा विवादलाई पनि कूटनीतिक तरवरले समाधान गर्ने उपयुक्त समय आएको बताए ।

सरकार सीमा विवाद समाधान गर्न गम्भीर भएका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई आक्षेप लगाएर गल्ती गरेको भन्दै उनले त्यस विषयमा गल्ती बोलेको स्वीकार्न सुझावसमेत दिए ।

अस्थायी राजधानीका सन्दर्भमा १२ वटै जिल्लाबाट सुझाव संकलन गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले यही वर्षभित्र सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्ने जानकारी दिए । विज्ञको टोलीसमेत गठन गरेर त्यसले अध्यन सुरु गरिसकेको बताउँदै विज्ञको प्रतिवेदन, जनताको रायलाई प्रदेश सभामा प्रस्तावक रूपमा लगेर छलफल गरेर उपयुक्त स्थानमा राजधानी यही वर्ष तोक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार