धर्मगुरुको जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेल आउँदै


इलाम, ८ मंसिर । किराँत धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सव समारोह उद्घाटन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने भएका छन्। आउँदो मंसिर १८ गते माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा आयोजना गर्न लागिएको ६६ औं जन्मोत्सव उद्घाटन गर्न पोख्रेल आउने भएका हुन्।

मंसिर ११ देखि विविध कार्यक्रम आयोजना गरी लिङ्देनको जन्मोत्सव मनाइँदैछ। त्यस अवसरमा ११ देखि १७ गतेसम्म आत्मानन्द कप फुटबल प्रतियोगिता आयोजना गरिँदैछ। प्रतियोगिताका विजेताले २ लाख ६६ हजार र उपविजेताले १ लाख ६६ हजार रुपैयाँ नगद पुरस्कार पाउने जन्मोत्सव आयोजक मूल समारोह समिति सदस्य तथा प्रचार उपसमिति संयोजक सुमन लावतीले जानकारी दिए। ‘यही अवसरमा साढे ५ किलोमिटर म्याराथन, सटपुट, धनुषवाण र स्लो बाइक ड्राइभिङ प्रतियोगितासमेत आयोजना गरिँदैछ,’ आइतबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा लावतीले भने, ‘गुरुको आशीर्वचन, पुस्तक विमोचन तथा विविध कार्यक्रम आयोजना गरिएका छन्।’

जाँड, रक्सी, मासु, धूमपान, जुवातास तथा लागूऔषध निषेध गरिएको लारुम्बामा धर्मगुरुको जन्मोत्सव समारोह उद्घाटन गर्न रहेक वर्ष देशका उच्च ओहोदाका व्यक्ति आउने गरेका छन्। गुरुको जन्मोत्सव अवसरमा माङ्सेबुङ गाउँपालिकाले मंसिर १८ गते गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गत कात्तिक २० मा गरेको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दका अनुयायी धर्मगुरु लिङ्देनको दर्शन गर्न विश्वभर छरिएर रहेका किराँत धर्मावलम्बी आउने गरेका छन्।

लारुम्बा पछिल्लो समय धार्मिक पर्यटीयस्थलका रूपमा विकास हुँदैछ। संसारभरका किरात धर्मावलम्बी लारुम्बालाई आस्थाको केन्द्र मानेर यहाँ आउ–जाउ गरिरहेका छन्। गतवर्ष गुरुको जन्मोत्सव समारोह उद्घाटन गर्न १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आएका थिए। त्यसअघि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपराष्ट्रपति परमानन्द झालगायत विशिष्ट व्यक्ति आएका थिए।

यहाँका घरैपिच्छे राता, सेता र पहेंला झन्डा गाडिएका छन्। प्रत्येक घरका आँगनमा तीनवटा बाँसका लिंगामा सूर्य अंकित ध्वजा पनि छन्। यहाँ आयोजना हुने विशेष समारोहहरूमा महिला, पुरुष र बालबालिका सबै सेतो पहिरनमा सजिएका हुन्छन्। नेपाल मात्र नभई भारत, भुटान, बंगालदेश, श्रीलंका, चीन, हङकङजस्ता मुलुकहरुबाट यहाँ धर्मावलम्बी आउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार