युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर


डोटी, ७ मंसिर । नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका समय पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्।दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न सुरु गरिसकेका छन्। उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको डोटीको जोरायल गाउँपालिकाका स्थानीय तथा शिक्षक निर्मल रावतले बताए।

‘परदेश गएका चाडबाडमा घर आएका कारण गाउँमा रमाइलो थियो, अहिले उनीहरु फर्किन थालेपछि यहाँका गाउँघर प्रायः सुनसान हुन थालेका छन्’ उनी भन्छन्।पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेसँगै गाउँ सुनसान हुन थालेका हुन्। आफ्नो काम गर्ने ठाउँमा जाने र पढ्न गएका विद्यार्थी पनि फर्किन थालेपछि जिल्लामा सञ्चालन हुने सवारीसाधनमा समेत चाप बढेको शैलेश्वरी यातायातका रुटपरमिट इञ्चार्ज प्रेम रावलले बताए।‘शुक्रबार जिल्ला बाहिर फर्किनेका कारण यातयातका साधन भरिभराउ हुन थालेका छन्, हामीसँग पर्याप्त सवारीसाधन नहुँदा केही समस्या हुँदै आएको छ’ उनी भन्छन्। जिल्ला बाहिर फर्किनेको सङ्ख्या बढी हुन थालेपछि अहिले डोटीबाट बाहिरी जिल्लाका लागि गाडी पाउन सकस हुने गरेको यात्रु बताउँछन्।दशैँ र तिहारमा रमाइलो रहेका सुदूरपश्चिमका डडेल्धुरा, अछाम, बझाङ, बैतडी, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा विस्तारै रौनक हराउन थालेको दिपायलका स्थानीय तथा सुदूरपश्चिम बस व्यवसायी समिति डोटीका प्रमुख दुर्गा पन्तले बताए।

यहाँका गाउँघरबाट युवा तथा कर्मचारी आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर महिला, बालबालिका तथा वृद्धका भरमा रहेका छन्। गाउँमा युवा नहुँदा कुनै समस्या पर्दा वा कोही मर्दा पर्दासमेत मलामी जाने मान्छे पनि नहुँने अवस्था भएको केआइसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार